स्यालापानीको जग्गा समस्या समाधानका लागि पालिकाको चासो

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्यालापानीको करिब २० बिगाह जग्गामा जोत एकातर्फ रहेको छ, भने पूर्जा अर्कैतर्फको रहेको छ । २०२८ सालमा नापीका क्रममा भएको त्रुटिका कारण जग्गाधनीले भने सास्ती भोग्दै आएका छन् । उक्त समस्या समाधानका लागि तुलसीपुर उपमहानगरपालिकाले चासो देखाएको छ।

समस्या समाधानका लागि नगरप्रमुख र स्थानीयबीच आइतबार सम्बन्धित ठाउँमै पुगेर छलफल गरिएको छ । त्यहाँको जग्गाको समस्याको कारण जग्गा किनबेच नै नभएपछि स्थानीयले समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् । स्थानीय मैताराम विश्वकर्माले तत्कालीन अवस्थामा नापीका कर्मचारीहरु फिल्डमै नआएरै जग्गाको नाप नक्सांकन गरेका कारण यस्तो समस्या सिर्जना भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले त्यस क्षेत्रमा रहेका ३३ घरधुरीको यस्तो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो – समस्या समाधानका लागि मालपोत, नापी कार्यालय, पालिका र स्थानीयबीच पटक पटक छलफल आयोजना गरेका छौँ, अब निर्वाचन लगत्तै बृहत छलफल पछि समाधानको बाटो खोज्छौ ।

स्थानीय चित्रबहादुर बस्नेतले दीर्घकालीनरुपमा समस्या समाधान भए आफूले जोत्दै आएको जग्गामै पूर्जा प्राप्त गर्ने गरी सहमति दिने बताउनुभयो । उहाँले भन्नुभयो – हाम्रो पूर्जामा १६ कठ्ठा सात धुर छ , तर चर्चिएको जग्गा पाँच कठ्ठा मात्रै छ, हामीलाई चर्चिएकै जग्गाको लालपूर्जा मिल्छ भने त्यसैमा सहमति दिन तयार छौ । चित्रबहादुर मात्रै होइन त्यस क्षेत्रमा जग्गा भएका ३३ घरधुरीमध्ये ३० घरधुरी तयार रहेको स्थानीय रेखा रोकाले बताउनुभयो । उहाँले भन्नुभयो – समस्या समाधानको बाटोमा पुग्छ भने बाँकी तीन घरलाई समेत सहमतिमा ल्याउँछौ ।

नगरप्रमुख टीकाराम खड्काले जग्गाको समस्या समाधानका लागि स्थानीयले आफूले चर्चिरहेकै जग्गाको पूर्जा प्राप्त गर्ने गरेर सहमति गरेर त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो –तपाईहरु सहमति गरेर आउनुहोस् जग्गाको नाप नक्सांकनको कामलाई अघि बढाएरै दीर्घकालीनरुपमा समस्या समाधानको बाटो खोज्छौ । उहाँले निर्वाचन सकिए लगत्तै पालिका,मालपोत, नापी कार्यालय, स्थानीयको समन्वयमा त्यस क्षेत्रको जग्गाको नापी गरेर समस्या समाधानतर्फ अघि बढ्ने बताउनुभयो ।

त्यस क्षेत्रमा लम्बरी,ऐलानी र नाप नक्सांकन छुटको जग्गा रहेको छ । ५१ वर्ष अघि सिर्जित समस्या भएपनि त्यस क्षेत्रमा पर्यटकीय स्थल छिल्लीकोट पुग्नका लागि सडक कालोपत्रे भएपछि जग्गा किचबेच हुन थालेपछि मात्रै समस्याबारेमा स्थानीयलाई जानकारी भएको थियो । त्यही क्षेत्र भएर छिल्लीकोट पुग्नका लागि केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस