olux

अब एकपल्ट मुलुकको समृद्धिका लागि नेतृत्व गर्छुः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब अन्तिम एकपल्ट आफूले मुलुकको समृद्धिका लागि नेतृत्व गर्ने बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको दावी गर्दै अब मुलुकमा समृद्धिको नेतृत्व गर्ने बताएका हुन् । उनले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए ।

‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ, संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छन्,’ उनले भने । संविधान दिवसमा आयोजना गरिएको कार्यक्रममा उनले घुमाउरो पारामा फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिका लागि एक पटक नेतृत्व गर्ने चाहना छ । समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई सम्वृद्ध बनाउने हो ।’

जनयुद्धमार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको प्रचण्डले तर्क गरे । उनले ५० शैंयाको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको उद्घाटन गरेका छन् । दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय पाँच करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘जिल्लामै पहिलो पटक जनताबाट चन्दा उठाएर सुविधासम्पन्न अस्पताल बनाएका हौँ’, पालिका अध्यक्ष राईले भने, ’महायज्ञ लाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएका छौं ।’ पछिल्लो समय आस्था, जाति र लिंगका आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक संरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश-१ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, प्रदेश-१ मा पूर्व राज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङ लगायतलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस