महोत्तरीमा शंकर महतोको चर्चा, १ नम्बरबाट लडाउने एमालेको तयारी

बर्दिवास । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिसको निर्णय गरिरहेका छन् । महोत्तरीमा पनि उम्मेदवार सिफारिसका दलहरुभित्र नेताहरुको दौडधुप बढेको छ ।

नेकपा एमाले महोत्तरीले जिल्लाका सबै क्षेत्रमा उम्मेदवार टुंग्याउन छलफल सुरु गरेको छ । केहीसमय अघि नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर एमाले भित्रिएका युवा नेता शंकर महतो पार्टीमा चर्चामा छन् । महतोको नाम प्रतिनिधीसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।

आईतबार एमाले पार्टी कार्यालय रामगोपालपुर बसेको वैठकमा महोत्तरी क्षेत्र नं १ को तर्फबाट प्रतिनिधीसभा सदस्य पदका सम्भावित उम्मेदवारको सुचीमा महतोको नाम शिर्षस्थानमा राखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । वैठकले निर्वाचन क्षेत्र नं १ मा महतोसँगै कुमार भण्डारी र देवेन्द्र गौतमको नाम समेत सम्भावित उम्मेदवारको सुचीमा प्रस्ताव गरिएको उनले बताए ।

तीनजनाको नाम सिफारिश गरिएपनि महतोलाई नै उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा उत्रिने प्रवल सम्भावना रहेको उनले सुनाए । महतोको नाम प्रस्ताव भएसँगै क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट गिरीराजमणी पोखरेलसँग उनको प्रतिस्पर्धा हुने सम्भावना बढेको छ।

नेता महतो माओवादीमा छदासम्म पूर्वमन्त्रीसमेत रहेका पोखरेलको विश्वासपात्र मध्येका एक मानिन्थे । अघिल्लो चुनावमा पोखरेललाई जिताउन नेता महतो मास्टर प्लानरको रुपमा उभिएका थिए । उनी नेकपा माओवादी केन्द्रका मधेश प्रदेश समितिका सदस्यका साथै ईन्चार्जको जिम्मेवारीमा रहेर वाईसिएल मधेश प्रदेशको कमाण्ड सम्हालेका थिए । उनको एमाले प्रवेशले सबै भन्दा बढी क्षति पूर्वमन्त्रि पोखरेललाई भएको छ । उनी पछिल्लो समय पार्टीबाट असन्तुष्ट भएर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

आईतवारको बैठकले प्रदेशसभा सदस्य पदका लागि क्षेत्र नं १ ‘क’ को तर्फबाट सम्भावित उम्मेदवारको सुचीमा शारदा देवी थापा, केदार वस्नेत, चन्द्रलाल क्याप्छापीको नाम सिफारिश भएको हो । यस्तै, क्षेत्र नं १ ‘ख’ को तर्फबाट प्रमोद कुमार महतो, कोपिला पाण्डे र भिम वहादुर आले रहेका छन् ।

आज वैठकमा उनीहरुको नाममा प्रस्ताव आएको नेकपा एमालेका जिल्ला अध्यक्ष सरोज कुमार यादवले जानकारी दिए । भोली(सोमवार) वस्ने वैठकले उनीहरुको नाममाथि छलफल गरि अन्तिम नामावाली तयार गरिने अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस