olux

केपी ओली–शेखर कोइरालाबीच दुई घण्टा वार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच बिहीवार भेटवार्ता भएको छ । दुई नेताबीच करिब २ घण्टा कुराकानी भएको बताइएको छ ।

ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीवार बिहान उनलाई भेट्न बालकोट पुगेका थिए । दुई नेताबीचको वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहेको स्रोतले बताएको छ । यद्यपि, उनीहरूबीच भएको छलफलको विस्तृत विवरण भने बाहिरिएको छैन ।

सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता कांग्रेस नेता कोइराला र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालाले कांग्रेसमा संस्थापन पक्ष इतर समूहको नेतृत्व गरिरहेका छन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका थिए । उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले भने एमालेसँग संवाद अगाडि बढाएका हुन् ।

गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहेको छ । तर, सबै दलले आफूले धेरै सिट पाउनुपर्ने अडान कायम राख्दा सहमति हुन सकेको छैन । कांग्रेसभित्र कोइराला समूहले न्यूनतम १ सय सिट लिएर मात्र गठबन्धन गर्नुपर्ने अडान राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस