धरानबाट संकलित फोहोरमा आगो लगाइँदै। फोहोर डढाउँदा निस्कने धुवाँले भवानीपुरका एक हजार परिवारले र राजमार्गमार्फत् यात्रा गर्नेले सास्ती खेप्दै आएका छन्। इन्सेटमा धरान नगरपालिकाका प्रमुख हर्कराज साम्पाङ। उनले धरानमा फोहोरको कुनै समस्या नरहेको दाबी गर्दै आएका छन्।
इटहरी । ‘मेरा छिमेकी धेरै जना बिरामी छन्। बूढाबूढीलाई साससम्बन्धी समस्या छ। गाउँभरि दमका रोगी बढेका छन्। हामीलाई पनि धेरै गाह्रो पार्न थालेको छ। दुई वर्षयता साना नानीहरूलाई जिउमा घाउखटिरा आउने क्रम बढ्दै गएको छ,’ इटहरी-१९ भवानीपुरका दलसिंह राईले भने।
अधबैँसे उमेरका राई विगत १५ वर्षदेखि भवानीपुरमा बस्दै आइरहेका छन्। विगत ५ वर्षदेखि फोहोर जलेर निस्किने पिरो धुवासँग जुध्न बाध्य भएको सुनाउँछन् उनी। धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ।
बिहान उज्यालो भएदेखि खानाखाने बेलासम्म र साँझ ५ बजेदेखि रातभर यस्तै सास्ती हुने गरेको उनले बताए। फोहोर डढाएको धुँवाका कारण स्थानीयहरू दीर्घकालीन रोगको सिकार भएका छन्। राईका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवतीहरू बढी समय धुवाँको स्रोतनजिकै हुने भएकाले उनीहरु बढी समस्यामा परेका छन्।
धरान उपमहानगरपालिकाबाट संकलित फोहोरले भवानीपुर मात्र होइन, कोसी राजमार्ग हुँदै यात्रा गर्नेहरू समेत मारमा परेका छन्। बाँझगरा सामुदायिक वनमा जलेको फोहोरको धुवाँले बिहान र साँझको समय राजमार्गमा धुवाँ फैलने गरेको छ। धरान बसेपनि कामका लागि दैनिक रूपमा इटहरी आउने र फर्कने गर्दै आएका युवा मार्टिन घिमिरे राजमार्गको यात्रा गर्दा पिरो धुवाले जंगल क्षेत्रमा सास फेर्नै गाह्रो हुने गरेको बताउँछन्।
हाल बाँझगरा सामुदायिक वनको क्षेत्रमा उपमहानगरले फोहोर फ्याँक्ने गरेको छ। वन उपभोक्ता समितिले छलफल गरेर जंगलबाट फोहोर हटाउन आग्रह गरेको छ। गते जेठ ३० गतेको बैंठकले फोहोर यत्रतत्र छरिएको र चोरीतस्करी बढेको भन्दै फोहोरमैला व्यवस्थापनका ध्यान दिनुपर्ने बताएको हो।

केही सर्तसहित समितिले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ। फोहार फाल्ने स्थानमा घेराबारा लगाउनुपर्ने, खाल्डो खनेर फोहार पुर्नुपर्ने, फोहोर फ्याँक्ने ठाउँमा हेरालु राख्नुपर्नेलगायत समितिका माग छन्। त्यससँगै वन क्षेत्रका होर्डिङ बोर्डसमेत हटाउनुपर्ने समितिको आग्रह छ।
डिभिजन वन कार्यालय सुनसरीले पञ्चकन्या सब-डिभिजन कार्यालय धरानलाई पत्राचार गरेर उपमहानगरले फाल्ने फोहोरबारे अध्ययन गर्न निर्देशन दिएको छ। डिभिजन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले पालिकाले फोहोर फाल्ने आधार र प्रमाण भए/नभएको पत्ता लगाउन भन्दै पत्राचार गरेका हुन्। यही भदौ १२ गते पत्राचार गर्दै कालीकोटेले वन क्षेत्रमा फोहोर फाल्न नपाउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेका छन्।
यसबीचमा उपमहानगरपालिकालाई बारम्बार सचेत गराउँदा पनि कुनै वास्ता नगरेको कालीकोटेले बताए। पछिल्लो समयको कुराकानीमा केही महिनाभित्र व्यवस्थापन गर्ने जानकारी आएकाले आफूहरु पर्खाइमा बसेको उनको भनाइ छ। ‘लामो समयदेखि सोही स्थानमा फोहोर फ्याँक्ने गरेको पाइएकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘तर पालिकाले कुनै वास्ता गरेको छैन।’

धरानको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको भेन्चर वेस्ट टु इनर्जी प्रालिले अप्रशोधित फोहारलाई जिम्मा नलिने बताएको छ। २०७८ पुष २० गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन गरेको प्रशोधन केन्द्रले समेत फोहोरमैलाको सम्पूर्ण जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ।
धरान उपमहानगरपालिकाले फोहोर संकलन गरेर प्रशोधन केन्द्रसम्म पुर्याउने मात्र काम गर्दै आएको छ। प्रशोधन केन्द्रमा कुहिने र नकुहिने फोहोर छुट्याएपछि नुकहिने तर पुनः प्रयोगमा ल्याउन नसकिने फोहोरलाई वन क्षेत्रमा फाल्ने गरिएको हो।
सम्झौताअनुसार उपमहानगरपालिकाले फोहोर दिने र आफूहरुले प्रशोधन गर्ने गरेको प्रालिका सञ्चालक विपुलराज पाण्डे बताउँछन्। कुहिने फोहोरलाई मल बनाउने र नकुहिने फोहोरलाई पुनः प्रयोगको लागि रि-साइकलमा पुर्याइने उनले जानकारी दिए। नकुहिने तर रिसाइकल गर्न नसकिने फोहोर पुनः उपमहानगरपालिकाले नै फिर्ता लैजाने गरेको उनले प्रष्ट पारे।

चालु आर्थिक वर्षदेखि लागू हुने गरी भएको २० वर्षे सम्झौतामा प्रालिले आम्दानीको १० प्रतिशत उपमहानगरलाई बुझाउने उल्लेख छ। फोहोरबाट उत्पादित ग्यासलाई यातायात विभागसँग समन्वय गरेर अटोरिक्सामा प्रयोग गरिने उनले बताए।
बोली र व्यवहार मिलेन
उता २०७५ चैत ६ गते सूचना जारी गर्दै उपमहानगरपालिकाले राजमार्ग आसापास, खोलाखोल्सी तथा सार्वजनिक स्थानमा फोहोर नफाल्न आग्रह गरेको थियो। उपमहागनरपालिका र नेपाल प्रहरीले अनुगमन गर्ने चेतावनीसहितको सूचनामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ र वातावरण संरक्षण ऐन २०७६ अनुसार कारबाही गर्ने उल्लेख गरिएको थियो। तर उपमहानगरपालिका आफैँले चारकोसे झाडीको सामुदायिक वनक्षेत्रमा फोहोरमैला फाल्ने काम जारी राख्दा यात्रुलाई सास्ती परिरहेको छ। धरान नगरपालिकाले जारी गरेको सूचना।
मेयर हर्कराज राई (साम्पाङ) काठमाडौं महानगरपालिकालाई ‘फोहोरमान्डौ’ भन्दै कटाक्ष गरिरहेका छन्। केही दिन अगाडि काठमाडौं भ्रमण गरेका उनले आफू गएपछि मात्र काठमाडौंको फोहोर उठ्न थालेको भन्दै टिप्पणीसमेत गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्ने आशय राखेपनि भेट गर्न बालेन्द्रले समय नदिएपछि साम्पाङले कटु आलोचना सुरु गरेका छन्।
त्यसपछि लगातार काठमाडौंको फोहोरलाई लिएर उनले श्रमदानबाटै फोहोर उठाउन सकिने समेत बताए। पछिल्लो समय सामाजिक सञ्जालदेखि अन्तर्वार्ताहरूमा समेत काठमाडौंको फोहोर र मेयर बालेन्द्रप्रति उनले व्यक्तिगत रुपमा कटाक्ष गर्ने गरेका छन्। तर उनकै पालिकाको फोहोरको कारण दैनिक हजारौँ यात्रु र स्थानीय आततायी जीवन कटाउन बाध्य छन्। यस विषयमा मेयर साम्पाङसँग कुरा गर्न खोज्दा उनसँग सम्पर्क हुन सकेन।
उपमेयर अइन्द्रविक्रम बेघाले प्लास्टिकजन्य फोहोरलाई रि-साइकल गर्ने विषयमा नयाँ योजना बनाउने तयारी गर्ने बताए। हालसम्म कुनै तयारी नभएको बताउँदै उनले बाँझगरा सामुदायिक वन क्षेत्रभित्र फालिने फोहोरलाई पनि प्रशोधन गर्ने जानकारी दिए। नेपाल समयबाट