पशुपतिमा तीजको रौनक (फोटोफिचर)

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ। दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको हो। बिहान मूल मन्दिर प्राङ्गणमा मात्र वर्तालु लाममा बसेका छन्। अहिले बाहिरी क्षेत्रमा भीड बढ्दै गएको उनले बताए।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिएको छ। पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो। पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो।

फोटो फिचर

 

प्रतिक्रिया दिनुहोस