डेढ बर्षमै विग्रियो दङ्गिशरण गाउँपालिकाले खरिद गरेको जेसीवी

दाङ । दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसीवी डेढ बर्षमै विग्रिएको छ । अहिले त्यो जेसीवी इलाका प्रहरी कार्यालय हेकुलीको प्राङ्गणमा थन्काएर राखिएको छ । आर्थिक बर्ष २०७५÷०७६ मा ३३ लाखमा खरिद गरिएको उक्त जेसीवीले आम्दानी भने केही गर्न सकेन् ।‘खरिद गरेदेखि डेढ बर्षमै विग्रियो, अहिले थन्काएर राख्नु पर्ने अबस्था छ’,गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तविर चौधरीले भन्नुभयो“यो जेसीवीबाट एक रुपैँया पनि आम्दानी लिन सकिएन ।”

विग्रिएपछि मर्मत गर्न लगिएको भएपनि मर्मत खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्काएर राखिएको उनले बताए । मर्मत खर्च पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्काउनै फाईदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्काईएको उनले बताए ।‘पटक–पटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्काएकै फाइदा हुने भयो’,उनले भने‘त्यसपछि कार्यपालिकाले थन्काउने नै निर्णय गरेको हो ।’

लु १ ख ३३३५ नम्बरको उक्त जेसीवी खरिदकालागि बुद्ध इलेक्ट्रो पावर प्रालिले टेन्डर पारेर खरिद गरेको थियो । त्यो जेसीवीबाट फुर्केसल्लीसम्मको सडकको ट्रयाक खोलिएको थियो, भने अन्य वडाहरुका सडक निर्माण भए । काम धेरै भएपनि आम्दानी भने न्यून भएको स्टोर शाखा प्रमुख चौधरीले बताए । उनका अनुसार पहिलो बर्ष कर्मचारीहरुले नै आम्दानीको लेखाजोखा राख्ने गरेका थिए । तर, त्यसमा सन्तुष्ट नभएपछि कार्यपालिकाले निर्णय गरेर जनप्रतिनिधिलाई नै जिम्मा सुम्पिएको छ ।

अहिले विग्रिएर थन्काएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए ।‘लिलाम गर्ने हो की भन्ने कुरा छलफल चलेको छ’, उनले भने‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।’

गाउँपालिकाले त्यतिबेला एउटा ट्याक्टर पनि खरिद गरेको थियो । तर, त्यो ट्याक्टर भने नियमित चलिरहेको छ । करिब १६ लाख लागतमा ट्याक्टर खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस