कविता – “सरकार हुँ म”

सरकार_हुँ_म

देशी विदेशी दलालसामु सधैँ घुँडा टेक्नैपर्ने लाचार हुँ म ।
राष्ट्रिय स्वाधीनताको रक्षार्थ पनि अघि नसर्ने धिकार हुँ म ।
जनता कुट्ने देशको ढुकुटी लुट्ने परम्पराको सिकार हुँ म ।
तरपनि जनतालाई वेवकूफ बनाउन सफल चमत्कार हुँ म ।

असहाय अबलाको दरकार नसुन्ने कस्तो दुत्कार हुँ म ।
संधैं आफ्नै देश र जनतालाई झुक्याउने चित्कार हुँ म ।
कौडीमा किनेर करोड़ौमा बेच्ने घाटाको व्यापार हुँ म ।
आफ्नै कानको सुन पनि नचिन्ने खै कस्तो सुनार हुँ म ।

आँखैं अगाडि सिमाना मिच्दा पनि नदेख्ने अन्धो हुँ म ।
दिनहुँ बढ्ने महंगी, लुट र भ्रष्टाचार नदेख्ने रतन्धो हुँ म ।
किनकी कर र कानूनको आडमा मनपरी गर्न जानकार हुँ म
आफ्नै देशको जनता ठग्दै हिड्ने छद्मभेशी मकार हुँ म ।

पीड़ितको घाउँमा मलहमको सट्टा पोल्ने पिरो अचार हुँ म ।
समाज, देश र जनताको सेवक नामक झूठा प्रचार हुँ म ।
आफ्नै देशमा बदलाव र विकास गर्न नसक्ने विकार हुँ म ।
हो१ संविधान नमान्ने ७६१ ओटा संवैधानिक सरकार हुँ म ।

 

प्रतिक्रिया दिनुहोस