डोल्पा -हिमाली जिल्ला डोल्पाको माथिल्लो भेगमा पर्ने डोल्पोबुद्ध गाउँपालिका वडा नं. ४ पोल्देमा दोस्रो डोल्पोबुद्ध स्मारक कप सम्पन्न भएको छ । समुद्री सतह देखि ४३ सय ५० मिटर उचाईमा रहेको पोल्दे गाउँमा फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
हिमाली क्षेत्रमा पर्ने पोल्दे गाउँले आयोजना गरेको दोस्रो डोल्पोबुद्ध स्मारक कप प्रतियोगितामा डोल्पोबुद्ध गाउँपालिका भित्रका विभिन्न ५ वटा फुटबल टिमहरुले सहभागीता जनाएका थिए । सवैभन्दा उचाईमा रहेको फुटबल खेल मैदानमा २०७८ साल देखि डोल्पोबुद्ध स्मारक कप आयोजना सुरु गरिएको हो । गत बर्ष छिमेकी शे फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका भित्रका विभिन्न फुटबल टिम सहभागी भएका थिए तर यस बर्ष उक्त स्थानीय तहबाट सहभागी नभएता पनि डोल्पोबुद्ध गाउँपालिका भित्रका विभिन्न टिम विच प्रतिस्पर्धा भएको डोल्पोबुद्ध गाउँपालिका डोल्पाका उपाध्यक्ष पेम्मा दोर्जे गुरुङले बताउनु भयो ।
दोस्रो डोल्पोबुद्ध स्मारक कप प्रतियोगिताबाट डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ धो टिमले उपाधी हात पारेको छ । यस्तै वडा नं. ३ तक्सी टिमले द्धितिय स्थान हासिल गरेको छ भने वडा नं. ५ तिन्जे टिमले तृतिय स्थान हात पारेको छ । प्रथम हुने फुटबल टिमले कप मेडल प्रमाण पत्र सहित नगद रु २५ हजार, द्धितिय हुने टिमले मेडल प्रमाणपत्र नगद रु १५ हजार र तृतिय हुने टिमले मेडल प्रमाणपत्र नगद रु १० हजार पुरस्कार पाएका छन ।
किन आयोजना हुन्छ डोल्पोबुद्ध स्मारक कप….
डोल्पोबुद्ध गाउँपालिका ६ सिमेन पु गाउँमा धर्मगुरु डोल्पोबुद्ध लामाको जन्म भएकोले उक्त स्थानलाई मध्यनजर गरि स्थानीयहरुको छलफल बाट डोल्पोबुद्ध लामाको सम्झनामा फुटबल प्रतियोगिता लगाएत विभिन्न स्थानीय संस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष पोम्मा दोर्जे गुरुङले बताउनु भयो । डोल्पोबुद्ध लामाको सम्झनामा उक्त स्थानमा होटेल पसल गर्ने व्यवसायीहरुले केहि आर्थिक संकलन गरि र केहि गाउँपालिकाको सहयोगमा डोल्पोबुद्ध स्मारक कप तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको उपाध्यक्ष गुरुङले बताउनु भयो ।
हाईअल्टीच्यूट रंगशाला निमार्णको लागि डोल्पोबुद्ध लगाएत माथिल्लो डोल्पाका विभिन्न ठाउँहरुमा संभावना रहेकोले यसकुराको प्रचारप्रसारको लागि पनि डोल्पोबुद्ध स्मारक कपले केहि सहयोग हुने विश्वास रहेको उपाध्यक्ष गुरुङले बताउनु भयो । माथिल्लो डोल्पा आफैमा हिमाली क्षेत्र हो जहाँ बर्षभरी अधिकांस महिना हिमपात हुने गर्दछ । उक्त स्थानमा अत्याधिक जाडो हुने र लेक लाग्ने हुनाले मानिस सहजै बसोबास गर्न र आवतजावत गर्न सक्ने सम्भावना हुदैन ।