भारत रिसाउँछ भनेर लिम्पियाधुरा नेपालको हो भन्न गठबन्धनका नेता डराए : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो भन्न समेत डराएको आरोप लगाएका छन् ।

केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो भन्न समेत डराएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नक्सामा समेटिएको जग्गा नेपालको हो भनेर एक शब्द पनि बोल्न नसकेको बताए । उनले उक्त जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम एमालेले गरेको जिकिर गरे ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य तथा चौताराका पूर्वमेयर अमानसिंह तामाङसहितलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनको नाममा नीतिगत भ्रष्टाचार गरेर देश सिध्याउन खेल भएको आरोप समेत लगाए । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस