एकीकृत समाजवादी डोल्पाको प्रथम पूर्ण बैठक सम्पन्न,निर्वाचन समन्वय समिति गठन

डोल्पा – नेकपा एकीकृत समाजवादी पार्टी डोल्पाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादी पार्टी डोल्पाका अध्यक्ष नन्दसिँह बुढाको अध्यक्षता र नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश कमिटी सचिव ठगेन्द्र प्रकाश पुरीको प्रमुख आतिथ्यतामा यहि भाद्र ४ र ५ गते जिल्ला समन्वय समितिको सभाहलमा प्रथम पूर्ण बैठक बसेको थियो । बैठकमा डोल्पा जिल्लाको समग्रह राजनितिक अवस्था र आगामी निर्वाचनको बारेमा छलफल भएको छ ।

बैठकले स्थानीय चुनावको समिक्षा,प्रदेश समन्वय समिति गठन,प्रदेश र संघको निर्वाचन बारेमा,संगठित सदस्य सम्बन्धमा,प्रदेश निर्वाचन क्षेत्र स्तरिय कमिटी गठन सम्बन्धमा,निर्वाचन परिचालन कमिटी गठन सम्बन्धमा,डोल्पा जिल्लाको समग्रह राजनितिक अवस्था सम्बन्धमा,सचिवालय पूर्णता दिने यी विषय बस्तुमा छलफल भएको नेकपा एकीकृत समाजवादी डोल्पाका उपसचिव यूवराज थकालीले जानकारी दिनुभयो । आगामी निर्वाचनको लागि पार्टीको उम्मेदवारी छनौट गर्ने काम प्रदेश निर्वाचन समन्वय समितिले गर्ने उपसचिव थकालीले बताउनु भयो ।

प्रदेश निर्वाचन समन्वय समिती गठन –

नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) डोल्पाले प्रदेश क र प्रदेश ख मा निर्वाचन समन्वय समिती गठन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघ को निर्वाचनलाई लक्षीत गरि दुवै प्रदेशमा प्रदेश निर्वाचन समिती गठन गरिएको हो । प्रदेश क को निर्वाचन समन्वय समितीको संयोजकमा ओमेन्द्र के.सी, सहसंयोजकमा शिवानन्द झाँक्री, सचिवमा तिलकजंग शाहीको नेतृत्वमा एक समिती गठन गरिएको छ । यस्तै प्रदेश ख को निर्वाचन समन्वय समितिको संयोजकमा माया ठकुल्ला,सचिवमा यूवराज थकालीको नेतृत्वमा एक समिति गठन गरिएको नेकपा एकीकृत समाजवादी पार्टी डोल्पाले जनाएको छ । आन्तरीक स्रोतका अनुसार नेकपा एकीकृत समाजादी डोल्पाले डोल्पाका तीनै निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट टिकट दाबी गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस