बजार खोज्दै डोल्पाली अर्गानिक अंगुर 

डोल्पा  – हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको १ वडा अन्तर्रगत पर्ने खातीज्युलामा यत्तिखेर अर्गानिक अंगुर लटरम्म फलेको छ ।
फारममा लटरम्म फलेका अर्गानिक स्वादिष्ट अंगुरले अंगुरका पारखीहरुलाई बोलाइरहेको छ ।त्रिपुरासुन्दरी नगरपालिका १ वडामा पर्ने त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अंगुरलाई पकेट खेतीको रुपमा विकास गर्ने गरी कृषकले अंगुर खेती गरेका छन ।

विशेष गरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट,रल्ली र गल्ली,रंगको फोई,खदांग गाउँले यत्तिखेर अंगुर गाउँको रुपमा आफुलाई स्थापित गर्न थालेका छन ।त्रिपुराकोट गाउँमा पुग्ने पाहुनालाई कृषकले फारममा लटरम्म फलेका अंगुरले स्वागत गर्ने गरेका छन ।
फारममा पुग्ने नवआगन्तुकलाई सत्कार स्वरुप अंगुर खान दिएर फर्कदा अंगुरकै उपहार सहित पठाउने गर्छन त्रिपुराकोटका अंगुर कृषक।नेपालका शहरहरुमा यत्तिखेर अंगुरको अभाव छ ।तर हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटमा प्रतिकेजी १०० रुपिंयामा अर्गानिक र स्वास्थ्यपरक अंगुर किन्न पाइन्छ ।
त्रिपुरासुन्दरी १ का मोतिप्रसाद हमालले हमाल फलफूल तथा अंगुर खेतीको नाममा फर्म दर्ता गरेर अंगुरको ब्यवसायिक खेती गरेका छन ।उनको फर्ममा यत्तिखेर झण्डै तीन लाखको अंगुर फलेको छ ।बजार अभावमा लटरम्म फलेको अंगुर मुल्य नपाउदा फारममै कुहिएर जानथालेको गुनासो कृषक हमालको छ ।त्रिपुरासुन्दरी नगरपालिकाका पहिलो निर्वाचित  मेयर ओमबहादुर बुढाले ०७५ सालमा नगरलाई फलफूल खेतीको माध्यमबाटै आर्थिक सम्बृद्दिको रुपमा अगाडि बढाउने उद्देश्यले भारतको महाराराष्टमा पर्ने नासिकबाटै नौ हजार अंगुरका विरुवा ल्याएर कृषकलाई वितरण गर्नु भएको थियो ।

कालो रंगको अंगुर अर्गानिक रुपमा फलेकाले स्वास्थ्यको लागि फइदाजनक हुने भएपनि बजार र बैकल्पिक प्रशोधन गर्ने उपकरणको अभावमा फारममा कुहिएर मलखादको रुपमा प्रयोग गर्नु वाहेक अरु केहि नहुने अर्का कृषक सरीता हमालको भनाई छ ।सरीता हमालले भन्नु भयो “ ढोकामा लगेर त्रिपुराकोटको बगरबजारमा विक्रीको लागि राखेपनि मुश्किलले दुई देखि तीन हजार सम्मको ब्यपार हुने गरेको छ ”।
नेपालगन्ज लगायतका शहरी बजारमा यत्तिखेर अंगुरको अभाव हुने भएपनि डोल्पामा लटरम्म फलेको अंगुरले सहज यातायातको अभाव र महंगो ढुवानीका कारण बजारको पहुँच सम्म पुग्न सकेको छैन ।यसो त डोल्पाका रंग, खदाङ्ग ,त्रिपुराकोट,रल्ली र गल्लीमा अंगुर फलेको छ । त्रिपुरासुन्दरी नगरपालिकाका कृषि प्रेमी मेयर ओमबहादुर बुढाको कार्यकालमा पहिलो पटक ०७५ मा एक करोड र दोस्रो पटक ०७६ मा १ करोड ४० लाख रुंिपयाको लागतमा फलफूलका विरुवा खरिद र कृषकलाई घेरावार निर्माणका लागि बजेट विनियोजन गरिएको थियो ।अंगुरको फारममा सर्पोटको लागि राखिएको एंगललाई समेत झुकाएर लटरम्म फलेको अंगुर कृषकलाई टिप्न यत्तिखेर भ्याईनभ्याई छ ।
त्रिपुरासुन्दरी १ कै सुस्मिता श्रेष्ठको फारममा पनि अंगुर लटरम्म फलेको छ ।झण्डै एक हेक्टर जमिनमा फलाइर्एको अंगुर नेपालगन्ज लगायतका शहरमा लगेर विक्री गर्न सकेमा तीन लाख सम्मको आम्दानी हुने अंगुर ब्यवसायी श्रेष्ठ बताउँनु हुन्छ ।
नगरकेन्द्र बगर र सदरमुकाम दनैमा सस्तोरुपमा विक्री गर्दा पनि दिनको सरदर तीन हजार सम्मको आम्दानी हुने गरेको र सानो बजारले भएकाले अंगुरले खासै बजारको पहँच सम्म नपुगेको श्रेष्ठको भनाई छ ।अंगुरखेतीको विशेष कार्यक्रम ल्याएर ब्यवसायिक अंगुरको खेतीको लागि प्रोत्साहन गरेपनि नगर मेयर ओमबहादुर बुढाको मृत्यु संगै नगरले अंगुर विशेष कार्यक्रमको लागि विनियोजन गरेको वजेट पनि अनेत्र शिर्षकमा खर्च गरेर घेरावार कार्यक्रम नै ओझेलमा पार्दा घेरावारको अभावमा संरक्षण गर्न समस्या भएको ब्यवसायी श्रेष्ठले गुनासो गर्नु भयो ।
सुस्मिता फलफूल अंगुर नर्सरी फर्म दर्ता गरेर ब्यवसाय गर्दै आएकी श्रेष्ठ यातायातको सहज सुविधा र नगरले ढुवानी अनुदानको ब्यवस्था गरिदिएमा नेपालगन्ज लगायतका शहरी क्षेत्रमा यहाँको अर्गानिक अंगुर पुर्याउन सकिने बताउँनु हुन्छ ।कौशल फलफूल फर्मको नाममा फारम दर्ता गरी अंगुरको खेती गरेका लबचन्द्र रोकाया डोल्पामा अंगुर ब्यवसायको लागि अनुकुल मौसम भएको बताउँनु हुन्छ ।
साउन भदौ देखि असोज सम्म नेपालका ठूला शहरी क्षेत्रमा अंगुरको हाहाकार हुने तर हिमाली जिल्लामा भने अंगुर बजार अभावमा सडेर जाने भएकाले सरकारले डोल्पाली अंगुर किसानको लागि ढुवानी अनुदानको ब्यवस्था गर्नु पर्ने माग रोकायाको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख लालप्रसाद भण्डारीले केहि अंगुर कृषकको लागि नगरले घेरावार एंगल खरिद गरि दिएको भएपनि सबै कृषकको लागि  बजेट विनियोजन गर्न जनप्रतिनिधिले नसकेको बताउनु भयो ।
कर्णाली प्रदेश सरकारले कर्णालीमा स्याउन जोन कार्यक्रम संचालन गरी स्याउ ढुवानीमा अनुदानको ब्यवस्था गरेको थियो ।डोल्पाली अंगुरलाई पनि शहरी क्षेत्रको बजार सम्म पुर्याउन हवाई ढुवानी अनुदानको ब्यवस्था गरेमा कृषकको अंगुरले बजार पाउनुका साथै सरकारले कृषि फलफूलको खेतीबाट किसानको आर्थिक जीवनस्तर माथि उकास्ने लिएको लक्षय पनि पुरा हुने र आर्थिक सम्बृद्दि सुखी नेपाली भन्ने सरकारको नाराले सार्थकता पाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस