डाेल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ रसी गाउँ लगाएत जिल्लाका विभिन्न ठाउँहरुमा खेतबारीमा लगाएको बालीबोट किराले खाएपछि किसान चिन्तित बनेका छन् । खेतबारीमा लगाएको वर्षे बालीबोट किराले खाएपछि यो वर्ष कमै मात्रामा अन्न उत्पादन हुने डरत्रासमा किसान बसेका छन् ।
खेतबारीमा रोपेको मकै, चिनो, गहुँ, फापरको फल र बोट किराले खाएको त्रिपुरासुन्दरी नगरपालिका २ का कृषक रामप्रसाद बोहोराले बताए । कृषक बोहोराको अनुसार स्थानीय भाषामा सुन किराले बालीबोट सखाप पारेपछि यो बर्ष अन्नपात उत्पादनमा कमी आउने डर भएकोले भोकमारी पर्ने संकेत देखिएको बताईएको छ ।
वैशाख जेष्ठ महिनामा खेतबारीमा लगाएको बालीबोट असोज कार्तिकमा घर भित्र्याउने समय आउन लाग्दा खेतबारीमा बालीबोट किराले सवै खाईदिएपछि यो बर्षको पसिना सबै खेर गएको अर्का स्थानीय किसान हिमराज बुढाले दुख व्यक्त गरे । बुढाले भने, खेतबारीमा किरा अनौठो तरिकाले फैलिएको छ हामी संग किरा मार्ने न कुनै औषधि छ न कुनै उपाय छ । सबै ठाउँमा एकैनास किरा फैलिएको छ ।
डोल्पा जिल्ला भुगोलको हिसावले भिरालो जमिन भएको र हिमाली क्षेत्र भएका कारण यहाँका किसानहरु बर्षे बालीबोट लगाउने गर्छन् । भिरालो जमिनमा उत्पादन गरेको खेतीले ६ महिना दिन सम्म आफ्नै उत्पादनले घर खर्च लगाउने यहाँका किसानहरु कहिले खडेरीका कारण, कहिले भारी वर्षादका कारण, कहिले विभिन्न बालीबोटमा लाग्ने रोग र किराको कारणले पिडित हुँदै आएको किसानहरुले बताउने गरेका छन् ।
डोल्पा जिल्लामा कृषक र किसानका लागि थुप्रै अनुदानका कार्यक्रमहरु आएपनि असल कृषकको हातमा आजसम्म पर्न नसकेको स्थानिय कृषक क्याल्बो बुढाले बताए । जुन आफ्नै खेतीपाती गरेर केहि महिना सम्म हातमुख जोर्छन् तिनको लागि नभई ठूलाबडाको नजिक चिनजानको भरमा सरकारी अनुदान वितरण हुने गरेको बुढाले गुनासो व्यक्त गरे ।