दाङ । भर्खर मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले देश दौडाहामा हुनुहुन्छ । जिल्ला–जिल्लामा भेला गर्दै उहाँले पार्टीका कुरा जनतामाझ भनिरहनुभएको छ ।
यहीक्रममा विहीबार साँझ दाङको तुलसीपुर हुँदै घोराही आइपुग्नुभएका रवि लामिछाने शुक्रबार भएको जिल्ला भेलामा सहभागी हुनुभयो । भेलाका मुख्यवक्ता त हुनुहुनेनै भयो । पार्टीका प्रवक्ता डा. मुकुट ढकालसहित लामिछाने कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।
घोराहीको होटल मालाइनको हलमा भएको कार्यक्रममा सहभागीको राम्रै उपस्थिति थियो । सहभागीहरुमाझ आफ्नो कुरा लामिछानेले करिब १५ मिनेट जतिमा सुनाउन भ्याए । १५ मिनेटकोबीचमा उहाँले आफ्नो पार्टीको कुरा कम अन्य पार्टी र नेताका कुरा धेरै गर्नुभयो ।
उहाँले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश विगार्ने काम गरेको आरोप लगाउनुभयो । वितेको ३०–४० वर्षमा पार्टीहरुले आफ्नो र आफन्तको भलो हुने काम मात्र गरेको र नागरिकको पीडा भने अहिले पनि ज्यूकात्यहि रहेको भनाई राख्नुभयो।
आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै सिद्धान्त, विचार नरहेको भन्दै ५–६ वर्षसम्म नागरिकका दुःख सुनेको र त्यहि दुःख नै आफ्नो सिद्धान्त विचार भएको बताउनुभयो । ‘मैले ५–६ वर्षमा नागरिकका कुरा सुन्दा जुनजुन कुरामा अप्ठ्रो पर्यो भन्नुभयो, त्यहि नै हाम्रो मुल मुद्धा हो, मेरो विचार यहि हो । मेरो सिद्धान्त यहि हो । यो मुद्धाबाट हिजो पनि विचलित भएन । आज पनि विचलित भएको छैन ।’ लामिछानेले भन्नुभयो ।
यदि कसैलाई आफ्नो यो एजेण्डा मन पर्दैन भने अरु पार्टीका वान्कि मिलाएर लेखेको घोषणा पत्र पढ्न उहाँले आग्रह गर्नुभयो । ‘मेरा विचार, मेरो सिद्धान्त जे भने पनि जनताकाले पाएको दुःख हो,’ उनले भने, ‘यदि यो मुद्धा मन पर्दैन भने बजारमा ठूला भनिएका पार्टीका वान्कि मिलाएर लेखिएका घोषणा पत्र पाइन्छन । त्यहि पढ्नु होला ।’
उहाँले आफ्नो पार्टीको बारेमा यति मात्र भन्नुभएको थियो । आफूले ५–६ वर्षमा नागरिकको आँसु देखेको, दुःख देखेको र त्यहि दुःखहरुको अन्त्य गर्ने काम आफ्नो पार्टीले गर्ने उहाँको भनाई थियो । यो भनाई बाहेक लामिछानेले बाँकी समय अन्य पार्टी र नेताहरुको आलोचना गर्नमै सक्नुभयो ।
उहाँले नेताहरु खुट्टा मर्कियो भने पनि विदेशमा उपचार गर्न जाने, छोरोछोरी विदेशी स्कुलमा पढाउने, तर नेपालीलेले बाटैमा बच्चा जन्माउनु पर्ने, स्कुल पढ्न नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरु आफ्नो पद बचाउनका लागि जस्तो अवस्थमा मिल्ने गरेको बताउनुभयो ।
तर नेताहरु विकासका योजना बनाउन कहिल्यै नमिल्ने जिकिर गर्नुभयो । आजसम्म अन्य पार्टीहरुले केहि गर्न नसको र अबको मंसिर ४ पछि नेपालीको भाग्य फेरिने उहाँको दाबी छ । मंसिर ४ गते हुने निर्वाचन पछि आफूहरु संसदमा पुग्ने र त्यसका लागि नेपालीले स्वतन्त्र पार्टीका उम्मेदवरलाई जिताउन विश्वास लिएको भनाई राख्नुभयो ।