राष्ट्रपतिले भनिन्– नागरिकता विधेयकबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छन् । संसद्‌बाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ ।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको धारणा मागेका थिए ।

अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठिक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए ।

जबाफमा राष्ट्रपति भण्डारीले भनिन्, “नागरिकताबारे अध्ययन गर्नुपर्छ । पहिला यहाँ आओस्, त्यसपछि हेर्छु ।”

नागरिकता विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गरिन् । उनले भनिन्, “यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ । केही हामीले अपनाउनुपर्ने विषय छ । मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ । कतिपय कुराहरु हामीले भन्न मिल्दैन । म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन भनेर हामीले शपथ खाएका हुन्छौँ ।”

नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानुनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरणसमेत गरिन् । छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको उनले सुनाइन् ।

राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको जनाउ दिइन् । उनले गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन् ।

“गठबन्धन के कस्तो छ, मेरो मामला होइन । जस्तो भए पनि जनतामा राम्रो होस् । कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन् । कमसेकम देश र जनताको हित हुनुपर्‍यो,” राष्ट्रपतिले भनिन् ।

प्रतिक्रिया दिनुहोस