दाङमा व्यवसायिक मेवा खेतीमा युवाहरुको आर्कषण बढदै

लमही । दाङ्गमा व्यवसायिक मेवा खेतीमा युवाहरुको आर्कषण बढदै गएको छ। बेरोजगारीको समस्याले लाखौ युवा बिदेशिएको अवस्थामा उच्च शिक्षा हासिल गरेर दाङ्गको तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुरमा ४ जना युवाहरुले सेङ्गलेङ्ग बहुउद्येश्य कृषि तथा पशु–पन्छी फर्म दर्ता गरी व्यवसायिक रुपमा मेवा खेती तथा केरा खेती गर्दै आएका छन । ५० लाखको लगानीमा सञ्चालन गरेको उक्त फर्ममा भैंसी पालन पनि गरिएको छ ।

रेडलेडी प्रजातीको मेवाको र्बेना घरमै उत्पादन गरी तुलसीपुर उप– महानगरपालिका १७ हेमन्तपुरमा ५ बिगाहा जग्गा भाडामा लिई खेती गरिएको छ। मेवा सङ्गसङ्गै मालभो प्रजातीका केराहरु पनि रोपिएका छन। सुरुमा बिरुवालाई हुर्काउन गाह्रो भएपनि पछि राम्रो आम्दानी हुने उहाँहरुले बताउनु भएको छ । एउटा मेवाको बोटमा कम्तीमा ५० देखि १०० किलो सम्म फल तयार हुने तथा एउटै बोटलाई चार वर्षसम्म प्रयोगमा ल्याई फल फलाउन सकिने भएकाले व्यवसायिक रुपमा यो खेती गरिएको हो ।

स्वास्थ्यको हिसाबले पनि फाइदाजनक मानिएको मेवाको बजारको सभांवना राम्रो देखेपछि यस्को व्यवसायिक खेतीमा लागेको उहाँहरुको भनाई छ। दाङ्ग सहित बाहिर जिल्लामा मेवाको माग अत्यधिक भएको भए पनि आफनो उत्पादन जिल्ला मै खपत हुने गरेको उहाँहरुको भनाइ छ । खुद्रा मुल्य प्रतिकिलो ८० देखि १०० रुपैया तथा होलसेल मुल्य प्रतिकिलो ५५ देखि ६० रुपैया सम्म विक्री गर्दै आएको र उत्पादन भएको मेवालाई बजार पुर्याउनु नपर्ने, व्यापारीहरु आफै आएर लिएर जाने गरेको उहाँहरुको भनाई छ । विगत दुई वर्ष देखि मेवा खेती गर्दै आउनुभएका उहाँहरु अहिले मेवाको अर्को सिसनको फलको पर्खाईमा हुनुहुन्छ।

कृषि गर्ने किसानको लागी अनुदानको प्रकृया सरल नहुदाँ कृषकलाई सास्ती खेप्नु परेको उहाँहरुको भनाई छ। कृषिमा आधुनिकिकरणको आवश्यकता महत्वपुर्ण रहेको औंल्याउदै व्यवसायिक कृषि गर्ने किसानको लागी सहुलियत दरमा नयाँ प्रविधिका उपकरण अनुदानमा उपलब्ध गराइदिन उहाँहरुको सुझाव छ। नयाँ तरिकाले व्यवसायिक रुपमा कृषि गर्ने हो भने आर्थिक रुपमा सक्षम हुने उहाँहरुको भनाई छ।

स्वास्थ्यको हिसाबले पनि फाइदाजनक मानिएको मेवा धेरै प्रकारको रोगको औषधीका रुपमा पनि प्रयोग गर्न सकिन्छ। त्यसैले यस्ता नयाँ प्रकारका कृषि खेतीको प्रर्वधनमा सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस