‘बुलाकी’ कात्तिकमा रिलिज हुने

काठमाडौं । पश्चिम नेपालको कर्णाली भेगको परिवेश समेटेर निर्माण गरिएको फिल्म ‘बुलाकी’को प्रदर्सन मिति घोषणा भएको छ । निर्माण टिमले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गर्दै रिलिज मिति लक गरेको हो । यो फिल्म आगामी कार्तिक १८ बाट दर्शकमाझ आउनेछ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्रलाई उदृत गरिएको छ । अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्कासँगै निर्माता समेत रहेका कलाकार विराज विष्ट पोस्टरमा अटाएका छन् । सबैलाई पश्चिमेली लुक्समा देख्न सकिन्छ । निर्माता विष्टले कार्तिक १८ हालसम्म कुनै पनि नेपाली फिल्मले मिति नतोकेको भन्दै सोलो रिलिज र सुरक्षित अवतरणको लागि उक्त मिति रोजेको बताए ।

लक्ष्मण सुनार निर्देशित फिल्मले मुख्यतः पश्चिम नेपालको कर्णालीमा हालसम्म पनि यथावत रहेको ‘जारी प्रथा’को कथा बोल्छ। केन्द्रीय पात्रको रुपमा रहेकी अभिनेत्री पन्तको वरीपरी नै फिल्म घुम्नेछ। फिल्मको सम्पुर्ण छायांकन पश्चिम नेपालको जाजरकोट,रुकुम पश्चिम र डोल्पामा गरिएको छ ।

स्व. मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्ट निर्माता रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट प्रमुख भूमिकामा हुँदा यहि फिल्मबाट सरस्वती खत्रीले ठुलोपर्दाको अभिनयमा डेब्यू गरेकी छिन् । खत्री दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् । साथमा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई पनि देख्न सकिनेछ।

शिव ढकालले खिचेको फिल्ममा गोविन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत समावेश छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको यसअघि सार्वजनिक पहिलो पोस्टरले नै चर्चा बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस