उपमेयर सुनिता डंगोलको छलाङः यस्तो छ सफलताको कथा

काठमाडौं । करिव ११ वर्षअघि काठमाडौंमा सम्पन्न नेवार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउने सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११३२’को उपाधि नै काठमाडौंकी स्थायी वासिन्दा सुनिता डंगोलको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

मिस नेवाः सुनिता

नेप्लीज फेसन होमले आयोजना गरेको मिस नेवाः सौन्दर्य प्रतियोगिताको उपाधि जितेपछि उनले जीवनमा कहिले पनि पछाडि फर्किएर हेर्नु परेन । त्यहि उपाधिले सुनितालाई रातारात सेलिब्रेटी बनायो । विद्यार्थीको रुपमा मात्र सिमित सुनिता समाजसेवाको क्षेत्रमा समेत सक्रिय भइन् ।

उद्घोषिका र रेडियोकर्मी सुनिता

मिस नेवाको उपाधि जितेपछि उनी सञ्चारकर्मीको रुपमा समेत अघि बढिन् । केही एफएम रेडियोहरुमा कार्यक्रम सञ्चालिकाको रुपमा काम गर्न थाल्नु अघि नै उनले सार्वजनिक समारोहहरुमा उद्घोषिकाको रुपमा काम गर्न थालिसकेकी थिइन् । सुनिताले स्वदेशका अधिकांश साना ठूला कार्यक्रमहरु उद्घोषिकाको रुपमा काम गरेकी छिन् भने नेपाल बाहिर पुगेर पनि आफ्नो वक्तित्व कलाको उदाहरण प्रस्तुत गरिसकेकी छिन् ।

एनटिभी प्लसकी कार्यक्रम प्रस्तोता

उद्घाषिकाको रुपमा सक्रिय रहेकी बेला करिव सात वर्षअघि सुनिताले एनटिभी प्लसमा कार्यक्रम उद्घाषिका तथा निर्मात्रीको रुपमा काम गर्न थालिन् । उनले सञ्चालन गरेको पहिलो टेलिभिजन कार्यक्रम थियो– ‘एक्रस द सी ।’ एनटिभी प्लसबाट २०७२ सालको भदौ महिनामा प्रत्येक बुधवार राति ८ देखि ८ः३० बजेसम्म प्रसारण भएको उक्त कार्यक्रममा सुनिताले हलिउड फिल्म, संगीत तथा फेसनका बारेमा जानकारी गराउँथिन् । उक्त कार्यक्रमपछि सुनिता एनटिभी प्लसकै लागि बालबालिका केन्द्रित कार्यक्रम ‘चिल्ड्रेन्स क्लब’ सञ्चालन गरिन् । विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नेपाल टेलिभिजनको स्टुडियोमै बोलाइर उनीहरुसंग विभिन्न विषयमा गरिने कुराकानीको यो कार्यक्रम दर्शकले पनि रुचाएका थिए । त्यसपछि पनि सुनिताले एनटिभी प्लसमा विभिन्न कार्यक्रमहरु प्रूस्तुत गरिरहिन् ।

नेवार भाषा/रञ्जना लिपी प्रशिक्षक

सञ्चारकर्मीको रुपमा सक्रिय भैरहेकै बेला सुनिताले नेवार भाषा विज्ञको रुपमा समेत काम गर्न थालिन् । आफूले उपाधि जितेको मिस नेवाः प्रतियोगिताका प्रतिस्पर्धिहरुलाई नेवार भाषा सिकाउने क्रममा उनले रञ्जना लिपीको प्रशिक्षकको रुपमा समेत काम गर्न थालिन् । कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनको क्रममा उनले अनलाईनबाटै रञ्जना लिपीमार्फत स्वदेश तथा विदेशमा बसोबास गर्ने नेवार समुदायका व्यक्तिहरुलाई प्रशिक्षण दिइन् । उनले फेसबुक लाइभमार्फत रञ्जना लिपीको बारेमा अनलाइन प्रशिक्षण कक्षा सञ्चालन गरेर समाजमा बेग्लै पहिचान बनाइन् । त्यसक्रममा उनले नेपाल भाषाको प्रशिक्षण समेत दिइरहिन् । यहीबीचमा उनी काठमाडौं महानगरपालिकामा विज्ञको रुपमा समेत आवद्ध भएर काम गरिन् ।

राजनीतिमा प्रवेश

महानगरसंगको त्यहि आवद्धताले उनलाई स्थानिय निकायको निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि आउन प्रेरित गर्यो । सुनिताले काठमाडौंको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने कुरा डढेलो लागे झैं फैलियो । सुनिताले मेयर पदमा विजयी भएपछि गर्ने कार्यहरुको सूची अर्थात प्रतिवद्धताले समेत मानिसहरुको ध्यान आकर्षित गर्यो । सञ्चार माध्यमहरुले पनि सुनिताको मेयर पदको उम्मेदवारको यात्रामा राम्रै साथ दिए ।

काठमाडौंमा सुनिताले मेयर पदको उम्मेदवारी दिने कुरा यतिसम्म चर्चित भयो, निर्वाचनको केही साताअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमालेको तर्फबाट महानगरपालिकाको उपमेयरको टिकट प्रस्ताव गरे ।

ओलीको प्रस्तावलाई सुनिताले सहर्षै स्विकारिन् । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितसंगै घरदैलो कार्यक्रममा सुनिता सक्रिय भइन् । त्यसक्रममा उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनलक्षित केही अभिव्यक्तिसमेत दिएकी थिइन्, जुन सामाजिक सञ्जालमा भाइरल भए ।
अन्ततः वैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भयो ।

अधिकांश काठमाडौंवासीले अनुमान गरे अनुसार नै २९ वर्षीया सुनिता डंगोलले उपमेयरको पदमा लोकप्रिय मत प्राप्त गर्दै उपमेयर पदमा निर्वाचित भइन् ।

देशैभरमा सबैभन्दा धेरै मत उपमेयर डंगोलको

स्थानीय तह निर्वाचन २०७९ मा देशैभरका उम्मेदवार मध्ये सबैभन्दा धेरै मत काठमाडौं महानगरपालिकाकी नविनिर्वाचित उपमेयर सुनिता डंगोलले पाएकी छिन् । एमालेका तर्फबाट काठमाडौंमा उपमेयरको उम्मेदवारी दिएकी डंगोलले ६८६१२ मत सहित सबैभन्दा धेरै मत पाउँने उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३८०६ मत मात्रै पाए। आफ्ना प्रतिस्पर्धीलाई ४४८०६ मतान्तरका साथ पछि पारेर विजयी भएकी डंगोलको अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चर्चा छ ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले ६१७६७ मत पाउँदै गर्दा उपमेयर डंगोलले मेयरको भन्दा ६८४५ मत बढी पाइन् ।

स्थानीय तहको निर्वाचन घोषणा भएपछि काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीे घोषणा गरेकी डंगोल पछि एमालेबाट उपमेयर पदको उम्मेदवार बनेकी थिइन् ।

नेपालयनकर्मी परिवार बालेन तथा सुनिताको सफल कार्यकालको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस