क्यान्सर अस्पताल निर्माण गर्न प्रखर दिएको साढे १० करोड गायब

बाँके । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति क्यान्सर अस्पतालको अध्यक्ष भएकै बेला प्रखरले उक्त रकम अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि भनेर दिएको थियो । तर, उक्त रकम अहिले पनि अस्पतालमा प्रयोग हुन नसकेको बताइएको छ ।

प्रखरले दिएको १० करोड ६७ लाख बजेट अहिले पनि कहाँ कसरी कसले राखेको वा प्रयोग गरेको छ भन्ने बारे न त प्रखरका पदाधिकारीलाई थाहा छ नत क्यान्सर अस्पतालका पदाधिकारीलाई थाहा छ ।

‘जुन लक्ष्य अनुसार प्रखरले दिएको थियो त्यहि लक्ष्य अनुसार सो रकम प्रयोग भएको देखिँदैन,’ प्रखरका महासचिव राजेन्द्र आचार्यले भने ‘बजारमा उक्त रकम बैंकमा छ भन्ने सुनिएको छ तर कुन बैंकमा कति छ भन्ने बारे कसैले जानकारी दिएको छैन ।’

यस बिषयमा पटक पटक प्रखर वा अस्पतालका तत्कालिन अध्यक्ष किस्मत कक्षपति निवर्तमान अध्यक्ष भक्तबहादुर केसी र पदाधिकारीलाई सोध्दा उनीहरूले कुनै पनि जवाफ दिन नसकेको भन्दै महासचिव आचार्यले उक्त रकमको तत्काल खोजी हुने बताएका छन् ।

क्यान्सर अस्पतालको अहिलेको समितिले पनि उक्त रकमको हरहिसाब मागेपछि आत्तिएको पूर्व समितिले राजनीतिक चलखेलमा शक्ति र पहुँचको आडमा यस समितिविरूद्ध केसीलाई उजुरी दर्ता गर्न लगाएको समेत खुलेको छ ।

उक्त रकमका बारेमा सोधीखोजी हुन थालेपछि प्रखरका पदाधिकारीले विगत लामो समयदेखि साधारण सभासमेत गर्न चासो देखाएका छैनन् । साधारण सभाले उक्त रकम खोज्ने र सो रकम गायब भइसकेकोले प्रखर तथा अस्पतालका तत्कालिन पदाधिकारीसँग कुनै जवाफ नभएकाले साधारण सभा गर्न समितिले वास्ता नगरेको महासचिव आचार्य बताउँछन् ।

महासचिव आचार्यका अनुसार साधारणसभा र उक्त साढे १० करोड रुपैयाँबारे अध्यक्ष कक्षपतिसँग पटकपटक कुरा गरे पनि उनले साधारणसभा त परै जाओस् बैंठक बस्नसमेत चासो देखाएका छैनन् । यसले पनि प्रखरको साढे १० करोड दुरूपयोग भएको स्पष्ट देखिएको स्थानीय जानकार बताउँछन् ।

खजुरामा क्यान्सर अस्पतालको सुरुवात गर्ने खजुराबासीले क्यान्सर अस्पतालका लागि आर्थिक मात्रै नभएर आफ्नो गाँस काटेर अन्नदान गरी अस्पताललाई यहाँसम्म ल्याएको र नागरिकले गरेको दानमाथि कुदृष्टि लगाउँदै तत्कालिन समितिले भ्रष्टाचार गरेको खजुराबासीका स्थानीय नागरिकहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस