ट्राफिक प्रहरीका चेकपोष्ट हुँदै आउजाउ गर्ने टिपरको स्पिड एकदमै तीव्र हुन्छ । कारणबस टिपरले सवारी र मान्छेलाई छोयो भने उनीहरुको अचार बन्ने निश्चित छ । त्यसरी स्पिडमा कुदाउने टिपर चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले छड्के चेकजाँचसम्म नगर्नुले गज्जबको सेटिङ्ग छ भन्ने पुष्टि हुन्छ ।
बाँकेमा नदी तथा खोला खुलेका छैनन् । नदीजन्य पदार्थको उत्खनन् तीव्ररुपमा बढिरहेको छ । तीन/चार दिनयता नेपालगन्ज तथा कोहलपुरका मुख्य सडकमा टिपरको राज चलेको छ । सानो सडक र गति तीव्रमा नदीजन्य पदार्थ ‘ओभरलोड’ मनपरी दौडिएका छन् । साना सवारीलाई ‘पेलेरै’ ओभरटेक गर्छन् ।
साना सवारीलाई त अहिले नै खाउँला, निलौलाजस्तो गरेर हुइँकिन्छन् । गलत साइडबाट ओभरटेक गर्दै साना सवारी साधनलाई पिसौला झैं गरेर कुदिरहेका हुन्छन् । नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा टिपर आतंक निकै त्रासपूर्ण छ । एकविहानै अन्धाधुन्ध गतिमा बजार क्षेत्रमा प्रवेश गर्ने टिपरका कारण सर्वसाधारणहरु निकै त्रसित छन् ।
निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ‘खतरनाक’ सवारी बनेका छन् । पछिल्लो समय शहरी क्षेत्रमा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ । सडक विस्तार लगायत अन्य पूर्वाधार निर्माण बढेका छन् ।
ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ । टिपरहरू जति खेप ओसार्यो, त्यति बढी कमाउँछन् । आम्दानीको लोभमा एकैदिन बढी ट्रिप भ्याउन खोज्छन् । कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन्छन् । टिपर चालकले प्रतिखेप एक हजारदेखि २५ सय रुपैयाँसम्म भत्ता पाउँछन् ।
दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ । व्यवसायी र चालकको यस्तो होडबाजीले टिपरको गति बढेको छ । उनीहरू ‘ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा’ शैलीमा कुद्न थालेका छन् ।’ मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु बढी शिकार हुने खतरा अत्याधिक बढिरहेको छ ।
यस्ता सवारी टिपरको आवाजले नै हड्बडाउँछन् । टिपरले साना सवारी पेल्ने प्रवृत्ति उत्तिकै छ । महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन् । यसले दुर्घटनाको जोखिम उच्च छ । नेपालगन्ज–४ बाइपासका गोविन्द शाही केही दिनदेखि नेपालगन्जमा टिपर आतंक बढेको र आफूलाई टिपर देखेरै डर लाग्ने बताउँछन् ।
‘यो सडकमा टिपर एकदमै बढी गुड्छन् । सडक साँघुरो छ । टिपरहरू विस्तारी गुड्दै गुड्दैनन् । यमराज आएजस्तो बत्तिँदै आउँछन् । देख्नेबित्तिकै पर भाग्नुपर्छ । होइन भने कुनबेला ठोक्दिन्छ भर हुन्न,’ उनले भने, ‘टिपरको तीव्र गति नरोकिने हो भने दुर्घटना झन् धेरै बढ्ने, झन् धेरैको ज्यान जाने निश्चित छ ।’
टिपर कुदाउने अधिकांश चालक कम अनुभवी र आलाकाँचा छन् । ३० वर्षभन्दा कम उमेरका बढी छन् । कतिले भर्खरै लाइसेन्स लिएर गाडी चलाउन थालेको बताउँदै जिल्ला ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘केही वर्षयता टिपरको स्टेयरिङ भर्खरै लाइसेन्स पाएका अनुभवविहीन आलाकाँचाका हातमा गएको छ ।’
‘हातमा स्टेयरिङ पाएपछि संसारै जितेजस्तो ठान्ने’ त्यस्ता चालक सवारी नियम उल्लंघन गर्न धक मान्दैनन् । गाडीको क्षमताले जति सक्छ, त्यही गतिमा कुदाउन खोज्छन् । यहाँका सडकमा ९० देखि १०० किलोमिटर प्रतिघन्टा गतिमा टिपर दौडिरहेका छन् । यस्तो बेला छिसिक्क केही भयो कि, ठूलै दुर्घटना हुन्छ । यसले शहर नै असुरक्षित भएको देखाउँछ ।
‘टिपर झट्ट हेर्दा ‘हेभी’ गाडीजस्तो देखिए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हलुका सवारी हो । यसको पिकअप राम्रो छ । चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ,’ एक जना टिपर चालकले भने, ‘चलाउन सजिलो गाडी लापरबाह चालकको हातमा परेपछि के हुन्छ भन्ने उदाहरण विभिन्न घटनाहरुले देखाइरहेका छन् ।’