दाङ,देउखुरी । लामो समयसम्म दाङको लमही घोराही सडक मर्मत नहुँदा विभिन्न समस्या हुदैँ आएको छ । जिर्ण बन्दै गएको सहिद कृष्णसेन इच्छुक मार्ग अन्तरगत लमही घोराही सडक मर्मत एवम् विस्तार नहुँदा दैनिक रुपमा आवतजावत गर्ने विभिन्न साना तथा ठूला सवारी साधानले निकै सास्ती खेप्दै आइरहेका छन् । लमही घोराही सडक खण्डका अधिकांश ठाउँमा सडक साँघुरो हुँदा सवारीसाधन वारपार गर्न पनि कठिन छ । यसका कारणले दुर्घटना समेत हुने गरेको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिंह खड्काका अनुसार लमही घोराही सडक अन्तरगत सहिद कृष्णसेन इच्छुक मार्ग स्तरोन्नति नहुँदा सास्ती भोग्नुपरेको छ । सवारी साधनहरु भीरमा ठोक्किने, ब्याक गर्दा मसोट खोलमा खसेर दुर्घटनामा पर्ने तथा यात्रुलाई पनि ढिलो हुने गरेको खड्काले बताउनुहुन्छ ।
गतवर्ष लमही घोराही सडक मर्मत भएदेखि अहिलेसम्म स्तरोन्नति गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान नदिएको उहाँको गुनासो छ । साँघुरो सडकमा बाध्य भएर सवारीसाधनहरु गुडाउनु परेको सवारी चालकहरुको गुनासो छ । यात्रु पनि जोखिमको यात्रा गर्न बाध्य छन् । वर्षौदेखि लमही घोराही सडकमा सवारी साधन चलाउँदै आउनुभएका लमहीका महेश भुषालले सहिद कृष्णसेन इच्छुक मार्गको विभिन्न स्थानमा धेरै साना गाडीनै पास नहुने भएकोले जोखिमपूर्ण रहेको बताउनुभयो । उहाँले ठूला गाडी वारपार गर्न करिब आधा किलो मिटर ब्याक गर्नुपर्ने अवस्थाका कारण यात्रामा जोखिम हुने उल्लेख गर्नुभयो।
स्थानीय, प्रदेश र संघीय सरकारले यति धेरै जोखिमपूर्ण सडक विस्तार गराउन कुनै कदम नचालेको गुनासो उहाँको छ । लमहीदेखि घोराहीसम्म २३ किलोमिटरका कैयाँै स्थान जोखिमपूर्ण छन् । उक्त सडक खण्डमा ठूला सवारी तथा मालवाहक गाडी मात्र होइन, साना गाडीसमेत पास हुनसक्ने अवस्था छैन । सबै भन्दा बढी मसोटको घुम्टी देखि माथिल्लो भागसम्म निकै साँघुरो छ । कुइरेपान देखि चौपटट्सम्मको भाग पनि निकै साँघुरो हुँदा दुर्घटनाको जोखिम छ । सडक साँघुरो हुँदा सवारीसाधनहरु कुनै–कुनै बेला भीरमा ठोक्किनेल गरेको चालकहरू बताउँछन् ।
सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत लमही घोराही सडकखण्डको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । घोराही लमही सडक सुधारमा सुस्तता कायमै छ । यता सडक डिभिजन कार्यालय दाङले परिणाममुखी काम गर्न नसकेको स्वीकार गर्दै आउँदो दुई महिनाभित्र खाल्डाखुल्डी पुर्ने तथा लमही घोराहीसम्मको सडक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । अहिले पनि ठूलाठूला खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम कायमै छ । कतै भत्किएर ट्राफिक व्यवस्थापनमा समस्या देखिंदै आएको छ । मुख्य मोडहरुमा खाल्डाखुल्डीका कारण ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
डिभिजन सडक कार्यालय दाङका इन्जिनियर तथा सूचना अधिकारी अमिर सुबेदीले लमही घोराही सडकलाई दुई लेन गर्न विशेष बजेट सहितको आयोजना आवश्यक रहेको बताउनुभयो । उहाँले सनातिना बजेटबाट सडक मर्मतको काम भइरहेको जानकारी दिनुभयो । लमही घोराही सडक मर्मतको जिम्मेवारी तुलसिपुर घोराही फोरलेन सडक ठेकेदारको भएको बताए । उहाँले भन्नुभयो,—। ‘लमही घोराही सडकखण्ड मर्मतको काम फोरलेनको भएतापनि फोरलेनले काम नगरेपछि हामीले सडक मर्मतको कामलाई अगाडि बढाएका छौँ । पहिलो चरणमा वीसलाख बजेट विनियोजन गरि घोराहीको कुइरेपानी देखि काम अगाडि बढाएका छौँ ।’ अव थप सडक मर्मतको लागी एक करोड वीसलाख बजेट विनियोजन गर्ने तयारी भइरहेको छ । सडक मर्मतको बिग्रेको भाग कोटर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस(पीच)गर्ने,आवश्यक ठाउँमा ढलान गर्ने काम हुने उनले जानकारी दिनुभयो ।।