दाङ । दाङको टरिगाउँ एयरपोर्ट विस्तारकालागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघले उक्त अभियान सुरु गरेको हो । एयरपोर्ट विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरुले नै एयरपोर्ट विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको हो । एयरपोर्टको धावन मार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै एयरपोर्ट विस्तारको सम्भावना रहेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।
अहिले बन कार्यालय, त्यहाँको समुदायलगायतसंग छलफल गर्नुकासाथै प्राबिधिकसंग परामर्स गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८ सय मिटर धावन मार्ग बनाएर देखाउने उनले बताए । आर्थिक संकलनकालागि तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट नाममा राष्ट्रिय बाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्वर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वच्छिक रुपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन् ।
एयरपोर्ट विस्तारमा पश्चिम दाङबाट प्रतिनिधित्व गर्ने सासदहरुले पनि एक्यबद्धता जनाएका छन् । तुलसीपुरको एयरपोर्टको विस्तारकालागि जस्तो सुकै दमक चाल्न पनि तयार रहेको उनीहरुको भनाई छ ।
तुलसीपुरको दाङ विमान स्थललाई पाइलट एकेडमीका रूपमा विकास गर्नका लागि पनि सकारात्मक भएर प्रक्रिया अघि बढाउन लागिरहेको कार्यक्रमका बत्ताको भनाइ थियो । त्यस अवसरमा तुलसीपुरमै निजी स्तरबाट विमान कम्पनी सञ्चालनका लागि पनि उदार हुन सबैलाई आग्रह गरिएको थियो ।
यस अघि तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर विमान स्थलको स्थलगत नापजाँच गरी तुलसीपुर उपमहानगरपालिकामार्फत इन्जिनियरले तयार पारेको प्रारम्भिक प्राविधिक प्रतिवेदन पर्यटन मन्त्रालयमा पठाइसकेको छ । विस २०११ देखि सञ्चालनमा आएको उक्त विमानस्थल पटक पटक खुल्ने र बन्द हुने गरिरहेको छ । एयरपोर्टको धावनमार्ग ७ सय ५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाई हुँदा सानो जहाज मात्रै बस्दै आएको छ । सानो जहाज बस्दा ९ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अबस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौं आवतजावत गर्न सकिन्छ ।