भट्टि पसलको सौन्दर्य

काठमाडौं ।

अदालत होइन भट्टी पसल
जहाँ रिहर्सल गरीगरी
त्यति धेरै झुट बोलियोस्
वा,
पार्टीको चुनावी घोषणापत्र पनि होइन भट्टी पसल
जहाँ लाज पचाएर
त्यति सफेद झुट बोलियोस्

भट्टी पसल त त्यस्तो ठाउँ हो
जहाँ हाँसेर होस् कि रोएर
छाती पिटेर होस्
वा मुड्कीले टेबल ठोकेर
कहिल्यै नखोलिएको तथ्य खोलिन्छ
कहिल्यै नबोलिएको सत्य बोलिन्छ।

पोडियममा उभिएर लोकमाझ
वा टेलिभिजनको काँचभित्र
भक्तपुरे सागको मुठोझैं
गाँठो परिरहने राजनेता पनि
रात छिप्पँदै गएपछि
सजिलो गरी फुक्दै जान्छ
भट्टी पसलमा क्रमश:
र, फिँजिन्छ नांगा केस्राहरूमा।

भट्टी पसलमा त्यति रुखो बोलिन्न
जस्तो कि-
मन्दिरअघि फूल बेच्नेहरू बोल्छन्
पुजारीको जस्तो अँध्यारो नियत
हुन्न भट्टी पसलेहरूमा,
त्यहाँ अर्को टेबलसम्म सुनिन्छ
एउटा टेबलमा गरिएको पश्चत्ताप
जबकि-
भगवानसामु मागिएको आशीर्वाद पनि
मुस्किल छ थाहा हुन
भक्तहरूको आफ्नै मनलाई
त्यसैले, कम कुरूप लाग्छ
मन्दिरको भन्दा भट्टीको व्यापार।

भट्टी पसलमा-
फुट्न सक्छन् टेबल/कुर्सीहरू
तर सदनजस्तो रोमाञ्चक होइन
सुन्निएर फुट्न सक्छ कलेजो
तर समयको काँचमा जसरी
सुन्निन्न माटोको धमनी।

घोषणा गरेर
नशाका बोटलहरू बेचिन्छ
सितनका प्लेटहरू बेचिन्छ
र, हदै बेचे एकरात जवानी बेचिन्छ
तर भट्टी पसलमा
त्यसरी कुनै कुरा बेचिन्न
जस्तो कि-
दशगजामा राष्ट्रियता बेचिन्छ
‘प्रभु’लाई खुसी पार्न धर्म बेचिन्छ
र, सत्तारोहणमा इमान बेचिन्छ ।

कसम!
माटोको रगत चुस्नुभन्दा
बोतलको नशा चुस्नु
कता हो कता निको लाग्छ मलाई।

प्रतिक्रिया दिनुहोस