निरन्तरता जीवनको अमुल्य अंश हो

दाङ । हो जिन्दगी एउटा यस्तो मैदान हो जहाँ हजारौं,लाखौं ,करोडौं खेलहरु खेलिन्छ । यी विविध खेलहरु खेल्दै गर्दा बिचमा उतारचढाव,लडने-उठने,प्रतिस्पर्धा गर्ने,गाली गर्ने,ईष्र्या गर्ने,आलोचना गर्ने कामहरू निरन्तर रुपमा भइरहन्छ । ठ्याक्कै आफुले गरेको परिकल्पना को आधारमा जीवन कदापि अगाडि बढदैन ।

गर्दिन भनेको काम बारम्बार गर्नुपर्छ
हिड्दिन भनेको ठाउँ बारम्बार हिडनुर्छ
खाँदिन भनेको चिज बारम्बार खानुपर्छ
जाँदिन भनेको ठाउँ बारम्बार जानुपर्छ
हेर्दिन भनेको चिज बारम्बार हेर्नुपर्छ
सोच्दिन भन्ने कुरा बारम्बार सोच्नुपर्छ
नहोस् भन्ने कुरा बारम्बार भइदिन्छ

त्यसैले परिस्थितिलाई छेक्न सकिदैन परिस्थितिसँग सामना गर्ने हो ।
साच्चै जीवनमा आउने उमेर समुह को फरकपन छ, यो यथार्थ हो,बाल्यकाल को उमेर अविस्मरणीय उमेर हुन्छ,अल्लारे हुन्छ । जीवनमा एउटा यस्तो उमेर आइदिन्छ जुन उमेर भनेको जीवनको गहिराइ नाप्ने उमेर हो, किताबमा अरुको जीवनको कथा कहानी पढे जस्तो नहुदो रहेछ आफनो जीवनको मर्म, अझै यो जीवनको मैदानमा भैरहेका खेलहरु यति कष्टकर लाग्छन, यसको सफलताको स्वाद चाख्न पाइन्छ पाइदैन थाहा हुदैन तर दिनहुँ भैरहेका खेलहरुको यसै सामना गरिरहनु पर्छ । प्रतिस्पर्धी पनि उतिकै हुन्छन् ,झन कठिन खालका नियमहरु आउछन यस खेलमा तै पनि मैदान छोडि भाग्न मन कसैलाई हुदैन र अझ जीवनका धेरै खेलहरु खेल्न मन लागिरहन्छ ।

अझै धेरै नियमहरु जान्न मन लागिरहन्छ । जीवनको मैदान यति बलियो बनाउन मन हुन्छ कि सिंगै हात्तीहरु यस मैदानमा खेल खेल्न आए पनि साहस का साथ अडिग हुन सकियोस् ।

आशैआशको भुमरीमा अल्झिदै जीवनका कठोर र तिखा प्रहारले जीवनको मैदान यति बलियो बनाइदिन्छन कि लाग्छ संसारको सिंगो म एक व्यक्ति हो जो काँडैकाँडाको बाटो पनि निरन्तर हिड्न सक्छु तर सबैको जीवन उत्तिकै ठक्कर बाट उक्लिरहेको हुन्छ । ओठमा देखिएको मुस्कानले उ भित्रको त्यो कठोर संघर्षको सफलता अौल्याउन सकिदैन ।

जीवन अनुभवहरुको संगालो हो जो अनेक यात्रा गराइरहन्छ,भइरहन्छ । त्यसैले निरन्तरता नै जीवनको अमुल्य अंश हो । निरन्तरता लाई अंगालिरहऊँ ।

प्रतिक्रिया दिनुहोस