कांग्रेस बागमतीको सभापतिमा बानियाँ निर्वाचित

बागमती । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

दोस्रो चरणको मतदानमा बानियाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन्। दुइ हजार २५ मध्ये बानियाँले १०८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन्। १३ मत बदर भएको थियो।

पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो। यसपटक उनले ५३ प्रतिशत मत प्राप्त गरेका छन्।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट बानियाँ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केसी चुनाव लडेका हुन्। पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन जनाएका थिए।

पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए। त्यस्तै, प्रधानले १९७ मत प्राप्त गरेका थिए। प्रधानको मत दुईतिर बाडिएको देखिएको छ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघसंस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए। जसमध्ये दोस्रो मतदानमा २०२५ मत खसेको थियो।

प्रदेश समितिको अन्य पदाधिकारी र सदस्यहरूको भने मतगणना आज गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस