राजेन्द्र लिङ्देनको यस्तो छ राजनीतिक पृष्ठभूमि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनको उदयसँगै लामो समयदेखि पार्टीमा एकछत्र राज गरिरहेका कमल थापाको आतंक सकिएको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र राप्रपामा कमल थापा पर्यायवाची बनेको थियो । उक्त आतंकलाई तोड्दै राप्रपामा उदाएका छन् लिङ्देन।

वि.सं. २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनको राजनीतिक जीवन वि.सं २०३६ सालबाट विद्यार्थी राजनीति हुँदै सुरु भएको हो । लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।

उनी २०४८ सालमा गठित राप्रपाको विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुन् । विकास प्रेमी नेताको छवी बनाएका नेता लिङ्देन स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका थिए ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तर हराएसँगै उनी केन्द्रीय राजनीतिमा उदाएका हुन् । उनले सिटौलाई १३ हजार ४ सय ४३ मतान्तरले हराएका थिए ।

पछिल्लो समय राजतन्त्रको वकालतमा खुलेर लागेका लिङ्देनको उदयले राजनीति वृत्तमा तरङ्ग पैदा गराएको छ । निवर्तमान अध्यक्ष थापाको राजतन्त्र र गनतन्त्रका बीचमा देखिएको दाहोरो चरित्रलाई चिर्दै लिङ्देन उदाउनुले केन्द्रीय राजनीतिमा फरक सन्देश प्रवाह गरेको छ ।

आफ्नो पराजयलाई कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षप भनी आरोप लगाएका छन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । सिङ्गो मूलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ थापाले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस