व्याक अगेन : केपी ओली

काठमाडौँ । हालै सम्पन्न नेकपा एमालेको १० औँ महाधिवेशनबाट पुनः अध्यक्ष पदमा केपी ओलीको पुनरागमन भएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बखत केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने बताएका थिए। आफैंले भनेको भनाइ केही समयमै काट्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा दोहोरिएका छन्।

नेकपाको नाम विवाद सम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि आयोजना गरिएको महाधिवेशनबाट ओली दोस्रोपटक अध्यक्ष दोहोरिएका हुन्। मंगलबार चितवनको सौराहामा सम्पन्न भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । १८४० मत ल्याएर ओली अध्यक्षमा निर्वाचित हुँदै गर्दा उनका प्रतिस्पर्धी भीमबहादुर रावलले २२३ मत ल्याएर पराजित भए ।

गत नवौं राष्ट्रिय महाधिवेशनमा ओली पहिलोपटक अध्यक्ष निर्वाचित भएका थिए । १५ वर्ष लगातार पार्टीको प्रमुख भएर नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष निर्वाचित भएका थिए। नेपाल नेतृत्वमा रहँदा पार्टीभित्र प्रतिपक्षी छवि बनाएका ओलीले नेपाललाई ४४ मतले पछि पार्दै पहिलोपटक अध्यक्षमा जितेका थिए। ओलीले १ हजार ४७ मत ल्याउँदा नेपालले १ हजार ३ मत ल्याएका थिए।

लामो समयको प्रतिक्षापछि ओली नवौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए। त्यसयता उनी लगातार दुईपटक अध्यक्ष र लगातार दुईपटक प्रधानमन्त्री भएर नेतृत्व गरिसकेका छन्। आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका ओली नवौं महाधिवेशनमा दोस्रो प्रयासमा नेतृत्वमा पुगेका थिए । १५ वर्ष पहिले जनकपुरमा भएको महाधिवेशनबाटै नेतृत्वमा आउन कोसिस गरेका ओलीले लामो समय प्रयासपछि पुगेका हुन्।

गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न भएको पहिलो विधान महाधिवेशनले तय गरेको १५ सदस्यीय पदाधिकारीको व्यवस्थालाई परिवर्तन गर्दै १९ सदस्यीयमा चितवन महाधिवेशनले व्यवस्था गर्‍यो। सोही व्यवस्थाअनुसार निर्वाचित १९ सदस्यीय पदाधिकारी सबै ओलीले प्रस्ताव गरेका नेताहरु निर्वाचित भएका छन्। बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोखरेल निर्विरोध भएका छन्। त्यस्तै उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्वीरोध निर्वाचित भएका छन्।

६ उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ निर्वाचित हुँदा ओलीको लिष्टमा नपरेका घनश्याम भुसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याएका थिए ।

त्यस्तै ७ सचिवहरुका लागि भएको निर्वाचनमा गोकर्ण विष्ट, छबिलाल विश्वकर्मा, योगेश भट्टराई, टोपबहादुर रायमाझी, पद्मा अर्याल, लेखराज भट्ट र रघुबीर महासेठ विजयी भए। ओलीको लिष्टमा नपरेका भीम आचार्य र टंक कार्की पराजित भए।

‘जो नेता बाहिरिए’

गएको नवौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमध्ये सबैभन्दा बढी मत ल्याएका भीम रावल दशौं महाधिवेशनमा पराजित भएका छन् । उनी ओलीसँग अध्यक्ष पदमा पराजित भएका हुन् । नेपाल समूहले पार्टी विभाजन गर्दा १० बुँदे सहमति कार्यान्वयन गर्न भन्दै एमालेमै रहेका नेता रावल अन्ततः ओलीसँग निर्वाचन भिडेर पराजित भएका छन् । महाधिवेशनको तयारी, प्रतिनिधिहरुको अवस्था सबै हेर्दा रावलले चुनाव जित्ने अवस्था कतैबाट पनि थिएन । तरपनि रावलले ओलीसँग भिडेर छाड्ने अडान लिए ।

त्यस्तै नवौं महाधिवेशन उपमहासचिवमध्येमा पहिलो मत ल्याएका घनश्याम भुसाल यो निर्वाचनमा भने उपाध्यक्षमा पराजित भए । ओलीले बनाएको लिष्टमा नपरेपछि भुसालले उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए। यद्यपी उपाध्यक्षमा पराजित भएपनि भुसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन्। ओलीले बनाएको प्यानलमा नपरेपछि उनीहरुले उम्मेद्वारी दिएका थिए।

को हुन् केपी ओली :

दोस्रोपटक अध्यक्षमा निर्वाचित केपी ओली २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। पञ्चायतकालमा निरन्तर १४ वर्ष जेल बसेका ओली पार्टीभित्र सधैं शक्तिशाली नेताका रुपमा रहिरहे। माधव नेपाल १५ वर्ष महासचिव तथा झलनाथ खनाल अध्यक्ष हुँदासम्म ओली पार्टी र सरकार सञ्चालनमा पुग्न सकेका थिएनन्। नवौं महाधिवेशनमा अध्यक्ष भएपछि ओली दुई पटक प्रधानमन्त्री बने भने अहिले दोस्रोपटक पार्टी अध्यक्ष भएका छन्।

विगतमा पार्टी वा सरकारको नेतृत्वमा नहुँदा पनि ठूलो समूह आफ्नो पछाडी बोकेर हिँड्ने गरेका ओली दशौं महाधिवेशनमा आइपुग्दा पार्टी नै एकलौटी जस्तो बनाउन सफल रहे । स्पष्ट बोली र अडानका कारण लोकप्रिय बन्दै गएका ओली पछिल्लो समय अत्यधिक आलोचनाका पात्र बनेका नेता हुन् ।

दुईरदुईपटक संसद् विघटन गरेर निर्वाचनमा जान खोज्दा अदालतद्वारा संसद् पुनर्स्थापना गरिदिएपछि २०७४ सालको निर्वाचनमार्फत २ तिहाई बहुमतको सरकारको नेतृत्व गरेका ओलीले सत्ताबाट बहिर्गमीत हुनुपर्‍यो। विरोधीलाई कडा आलोचना गर्ने ओली त्यही शैलीका कारण आलोचनाका पात्र समेत बन्दै आएका छन्। तर ओलीको त्यही छबीका कारण उनले पार्टीभित्र बलियो पकडसमेत बनाउन सफल भएका छन् ।

यद्यपी दशौं महाधिवेशनमा आइपुग्दा ओलीले पार्टी विगतमा जस्तो सग्लो भने राख्‍न सकेनन्। माधवकुमार नेपाल, झलनाथ खनाल समूहले पार्टी विभाजन गरी अर्को पार्टी गठन गरेका छन् भने ओलीलाई साथ दिँदै आएका पुराना नेता बामदेव गौतमले पनि ओलीको साथ छाडेका छन्। नेपालले पार्टी विभाजन गर्दा एमालेमै रहेर ओलीलाई साथ दिएका भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, टंक कार्कीलाई दशौं महाधिवेशनमा आइपुग्दा समेट्न सकेनन्। जसका कारण ओलीले निर्वाचनमा जीत हासिल गरेपनि पार्टीमा भने पराजय भोगेको कतिपयले टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस