बाला चतुर्दशी मेलाको पशुपतिमा रौनक

काठमाडौँ । बाला चतुर्दशीको अवसरमा पशुपति परिसरमा लाग्ने मेलाको तयारी तिब्र पारीएको छ ।

गत बर्ष कोरोना जोखिम उच्च रहेकाले बाला चतुर्दशीको अवसरमा लाग्ने मेला पशुपति क्षेत्र विकास कोषले औपचारिकरुपमा स्थगित गरेको थियो । यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

मेलामा साहभागी हुन मास्कको प्रयोग अनिवार्य गरिएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ। रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।

यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । भोलि महादीपदान र पर्सि बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस्तै, कोषले शतबीज छर्न जानेहरुका लागि ठाउँ ओगट्नका लागि अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस