काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ ।
अध्यक्षका लागि भने मतपत्रमै मतदानको व्यवस्था हुनेछ । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन हुँदै छ ।
वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । १ सय ९९ केन्द्रीय कार्यसमितिमध्ये १ सय ४९ जना निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरी राप्रपाले निर्वाचन गराउन लागेको हो । ५० जना अध्यक्षले मनोनीत गर्न पाउनेछन् । अध्यक्षमा सर्वसम्मत गराउन पहल भए पनि अध्यक्षसहित दुई प्यानल नै निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहेका छन् । लिङ्देनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणाले उम्मेदवारी घोषणा गरिसके पनि थापा समूहबाट महामन्त्रीको उम्मेदवार घोषणा भएको छैन ।
महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।
महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहनेछ । संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन् । ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् । यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ ।
निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरु हुनेछ । मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् ।
त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नुहुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ । महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण तयारी भइसकेको छ ।