सर्वोच्चमा आजदेखि गोला प्रक्रिया

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ ।

नेपालमा न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।

‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी उक्त अधिकार खोसेका हुन् ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।

गोला प्रक्रिया सुरु भएपछि कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने निर्क्योल संयोगका आधारमा हुनेछ । जसका कारण इजलास गठन गर्दा पहिल्यै सेटिङ गरेको भन्ने आरोपबाट न्यायालय जोगिनेछ ।

साथै यो सम्पूर्ण प्रक्रिया हरेक दिन अदालतमा उपस्थित सबै न्यायाधीश, मुख्य रजिस्ट्रार, रजिस्ट्रार तथा सूचना–प्रविधि विज्ञहरूको समेत उपस्थितिमा हुने भएकाले इजलास गठनमा पारदर्शिता कायम हुनेछ ।

जसका कारण अदालतप्रतिको जनविश्वास बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस