काठमाडौ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस देशकै ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रमा बोल्दै देउवाले पार्टीलाई सबैभन्दा ठूलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । पार्टीलाई राम्रो बनाउनका लागि पार्टीले विभिन्न समयमा गरेको निर्णय पार्टीभित्रकै कतिलाई मन नपरेको बताउनुहुँदै देउवाले मन नपरेपनि पार्टीको निर्णयलाई मान्नुपर्ने बताउनुभयो ।
उहाँले अरुको पार्टीलाई राम्रो भन्नुभन्दा पनि आफ्नो पार्टीलाई कसरी राम्रो बनाउ सकिन्छ भन्ने तिर लाग्न आग्रह गर्नुभयो । उहाँले निर्णय हतारमा नभइ सोच विचार गरेर मात्रै गर्नुपर्ने बताउनुभयो । ‘निर्णय गरेर पछुताउनु भन्दा ढिलै निर्णय गर्नु ठीक हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले निर्वाचन आइसकेकाले यसको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले अरुलाई अर्ति दिनुभन्दा पनि बुढापाकाको अर्ति सिक्न कार्यकर्तालाई आग्रह गर्नुभयो।