काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नयाँ पुस्ता पार्टीको नेतृत्व गर्न योग्य भएको बताउनुभएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै नयाँ पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भएको र नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गरेको बताउनुभयो ।
आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका उच्चकोटीका नेताहरूले अपमानित हुनु नपर्ने बताउनुभएको छ । देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताउनुभयो ।
आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उहाँको भनाइ छ ।
अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उहाँले बताउनुभयो ।