दाङ । रोल्पाको माडी खोलामा बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दाङको घोराहीबाट रोल्पाको थवाङ तर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरि चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बस झन्डै एक सय मिटर तल माडी खोलामा खसेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए । यो खवर तयार पार्दासम्म मृतकको सनाखत भइ सकेको छैन ।
त्यस्तै थप ६ जना घाइतेलाई उद्धार गरि सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पु¥याएको डिएसपी सुबेदीले जानकारी दिए ।
शहीद मार्ग अन्तरगत माडी गाउँपालिका वडा नं. २ जलजलास्थित माडी खोलामा बस खसेको छ । दुर्घटना स्थल भन्दा तीन किलो मिटर अगाडि प्रहरी चेक पोष्टका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए । त्यो बीचमा अरु कोही यात्रु थपिएको वा झरेको भन्ने एकिन भइ नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थल अँध्यारो भएको हुँदा अरु यात्रुपनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुबेदीले जानकारी दिए । यही हप्ता मात्रै रोल्पामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।