दशैँको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ । आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।

वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग हराउँछ भन्ने धार्मिक विश्वास रहदै आएको छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन्।

त्यहाँबाट काठमाडौंको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ। हनुमान ढोकामा यस वर्षको फूलपाती आज अपराह्न साढे ४ बजे भित्राइने कार्यक्रम रहेको छ ।

यस्तै, फूलपातिकै अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाति बढाइँ गर्दैछ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुनेछ । फुलपाती बढाइको अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ ।

सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गर्नेछ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।

कोरोना सक्रमणको जोखिमका कारण गत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सानो र छरितो कार्यक्रम आयोजना गरिदैछ । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस