त्यो पो दशै……

काठमाडौं । बच्चा बेलाको दशै बास्तविक रुपमा एकदम रमाईलो हुन्थ्यो, न कमाउने पिडा न कुनै तनाव बाल्यकालको जिवन बास्तवमा एकदमै सुन्दर हुन्थ्यो । अलिकत टेन्सन सर मिस हरुले दशै तिहार होमवर्क भनेर दिनुहुन्थ्यो । दशै भरि खायो, खेल्यो बसिन्छ जब स्कुलको बिदा पछिको सुरुको दिन सर मिसले होमवर्क सोध्दा कि त कापी हराएको बहाना बनायो कि, ल्याउन बिर्सिछु भन्यो, सर मिसले कानको जरिबुटा उखेल्ने हुन कि एकछिन कुखुरा बनाएर राख्ने हुन?

अलिकत तनाव त्यसकै हुन्थ्यो नत्र बुबाले पिडिंको माथि काठको निदालमा नाम्लोको बरियोको पिङ खेल्दै खल्ति भरि चिउरा हालेर चपाउदै खेल्दाको मजा सायद फर्केर आउदैन होला, बिहान भए पछि ठुला मान्छेले पिङ खेल्न पालो दिदैनन् भनेर ५ बजे नै उठेर पिङ खेल्न गएको सम्झना याद बनेर बसिरहन्छ । अझ पिङ खेल्न टाढा टाढा सम्म साथिभाई मिलेर गईन्थ्यो वास्तवमै खुब रमाईलो थियो त्यो जिवन, बुबाले कपडा किनेर ल्याई दिनु हुन्थ्यो, सायद बर्षमा नयाँ लुगा फेर्ने समय दशै नै हुन्थ्यो ।

घरमा मिठा मिठा परिकारहरु पाक्थ्यो तर चिउरा हत्तपत्त खान नपाईने र दशैमा मात्र कुट्ने हुँदा फुको चिउरा खल्तिमा हालेर कुद्दै खादै गर्दाको मजा छुट्टै हुन्थ्यो । डाँडामा गएर चंगा उडाउने र चंगा काट्ने प्रतिष्प्रधा हुन्थ्यो । दिनभर खेल्ने र रमाईलो गर्दै बाबु आमाको लाडमा हुर्किदै आएपछि पारिवारिक समस्या र अभावहरुबाट परिचित हुँदै गईयो र मन भित्रका रहरहरुलाई थाती राखि जिवन चलाउदै आईयो ।

आउनुस् टाइम मेसिनमा बसेर सँगै यात्रा गरौं बाल्यकालको दशैँमा।

दशैमा गाडीको चटारो

हुन त अचेल पनि यो उस्तै नै छ होला, तर आफुले भोगेको अभुभव बाँड्न मन लागिहाल्ने। अचेल माइक्रोको चलन, आआफ्ना गामठामका मान्छेहरुले गाडी नै रिजर्भ गरेर जाने सिस्टम, हुनेखानेहरु निजी गाडीमा जाने र केही भद्रभलादमीहरु प्लेनमा आआफ्ना घर फर्कने चलनले लामा दुरीका गाडी विकल्परहित छैनन्। तर उ बेला ति नै सर्वेसर्वा जस्तै थिए। १ महिना जति पहिले नै गाडीको बुकिङ खुल्थ्यो। साझा बसको चार्म आफ्नै थियो। सस्तोमा जापनिज इसुजु गाडी चढ्न पाइने र अरु भन्दा सुरक्षित पनि ! तेसैले प्राय सबैको प्राथमिकतामा त्यहि निलो गाडी पर्थ्यो । तर नपाएपछि बसपार्क (ऐलेको पुरानो बसपार्क) र केहि बर्षपछि गंगबु बसपार्कमा पनि बिहान ४ बजे नै गएर लाइनमा लागिन्थ्यो । दुइटा दिनको टिकट सबैभन्दा मारामार । स्कुलहरुको बिदा सुरु हुने घटस्थापनाको साँझ र अफिसहरु बिदा हुने फुलपातीको साँझ । टिकट पाउनु नै ज्याकपट लाग्नु बराबर । जब गाडी चढ्न बसपार्क गयो, मनै अमिलो भएर आउने । बिरगंज, बिराटनगर, नेपालगंज तिरका गाडी दुलही झैं सिंगारिएका हुन्थे, आफु चढ्ने गाडी भने कुच्चिएको टिनको डब्बा जस्तो मात्र। कति पटक त गाडी देख्दा घर नगएर राम्रा गाडीमा चढेर उतै हुँइकिउँ झै हुने भन्या।

उता गाउँमा

के को गाडीको चिन्ता, के को पिलिनको चिन्ता। सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो, कहिले मामाघर पुगिएला र पैसा जम्मा गरौंला भन्ने एकसुत्रीय चिन्ता हुन्थ्यो। कसैकसैको मामाघर त बिहान हिँडेर बेलुकी मात्र पुगिनेसम्म टाढा हुन्थ्यो। त्यसैले टीकाको दिन गाउँतिरै बरालिएर एकादशीका दिन भालेको डाकसँगै हिँड्नुपर्थ्यो। नजिक मामाघर हुनेहरु त घरमा टीका लगाइसकेर खाएको हात पनि मामाघर जाँदाजाँदै बाटाको धारामा धुन्थे, पैसा बटुल्नको हतारले। टाढा मामाघर हुने मामाघर पुगुन्जेल त नजिककाले बुढा मावली पनि ब्याइसक्थे। अनि घर फर्किएपछि कसको पैसा बढी भयो भनेर धक्कु लगाउने कम्ता मज्जा आम्थेन अझ मेरो मामा घर त नजिकै कम्ता रमाइलो हुन्थेन।

सहरमा थरी थरीका पिङ

धाकै सही स्तम्भकारले रुखमा टाङ्गेको पिङ, लिङ्गे पीङ (बाँसका लिङ्गो गाडेर टाङ्गेका पिङ), ४ पिर्के र ८ पिर्के चौडाली पिङ चढेको ब्योहोरा जानकारी गराउन चाहन्छु। रोटे पिङ्ग चाँहि स्तम्भकारले एकचोटी चढेर खाएको सबै वाकेपछि नचढ्या ब्योहोरा जानकारी गराउन चाहन्छु। टोलका युवाहरुको काँधमा पिङ स्थापना गर्ने जिम्मा हुने त सर्वविदितै छ। कसैले अह्राउन पर्थेन, युवाहरु स्वत:स्फुर्तरुपमा आफ्नो बलबुताले भ्याएको पिङ्ग हालेका हुन्थे। स्तम्भकार बसबाट झरेर आफ्नो घर पुगिन्जेल सबै पिङ्गमा चढ्दै पुग्या हुन्थे। घर पुगिन्जेल कम्तिमा आधी दर्जनचोटी भुँइछोड्ने अवसर पाउनुमा अलि डाँडामा भएको घरको भुमिका अहम थियो भनेर भनिरहनु नपर्ला।

उता गाउँमा

गाउँमा पीङ भनेकै रोटपीङ। त्यो मुला लिङ्गे पीङचाहिँ डरपोक, पानीमरुवा र केटाकेटीका लागि भन्ने हुन्थ्यो। गाउँमा दशैंका लागि रोटेपीङ बनाउन भनेर एकमहिनाअघिदेखि नै जंगलबाट खाँबा, निदाल काटेर ल्याइन्थ्यो। पाखुरा र पिरा (पिर्का) चाहिँ दुईदुई वर्षमा मात्र फेरिन्थ्यो)। रोटेपीङको विशेषता के थियो भने बलिया बाङ्गालाई फाइदै फाइदा। अलि बलिया केटाहरु रोटेपीङका अपरेटरहरु हुन्थे। उनीहरुको तजबीजमा को पछि कसले चढ्ने निर्धारण हुन्थ्यो। पीङ उनीहरुले नै मच्चाउँथे। केटीहरुका लागि त पीङको पिर्का जतिबेला खाली। अनि पीङ मच्चाउन पिर्काको तल समातेर घुमाउनु पर्थ्यो। तर केटाहरु पिङको पिर्कासँगै कहाँकहाँ समाउँथे भनेर साध्य छैन। अलि उमेर पुगेपछि आफूलाई पनि पीङको अपरेटर हुन खुब जोश चढ्थ्यो।

उता मामाघरमा

मामाघरमा आशीक सुनिँदै सुनिन्नँथ्यो। ध्यानजति सिधै पैसामा हुन्थ्यो। भागमा बीसको रातो नोट पर्ने हो कि दशको सेतो अथवा नीलो पचासको भन्ने मात्र ध्यान हुन्थ्यो। दाजुले बीसको नोट पाउनुभयो कि? दिदीले कति पाउनुभयो? आमाले कति पाउनुभयो। मलाई मामाले अरुको भन्दा थोरै पो दिए कि भनेर बडो चिन्ता हुन्थ्यो। कतिपटक त मामाघरमा पहिला पुगे दक्षीणा पनि बढी पाइन्छ भनेर घरका सबैलाई ल आउँदै गर्नू है भनेर एक्लै एक्लै मामाघर पनि दौडिइन्थ्यो।

अहिले त्यो दशैं खै ? काहा हुन्छ त्यस्तो रमाइलो ?
सम्झिदा पनि बिरक्त लागेर आउँछ । समय र काल खण्डसँगै सबै कुरा परिवर्तन हुँदै आउने रहेछन् । यो त भयो हाम्रो पालाको हाम्ले देखेको दशै, अरु बेला कन्जुसाँई गरे पनि यो बेला मन खोलेर कमेन्टमा मैले छुटाएका दशैका रमाइला पाटा लेख्नु होला। यसो मज्जा आओस न पढ्नेहरुलाइ पनि। अहिले कोरोना महामारी संगैको दशै नेपालीको दशा नबनोस! सिंगो शहर कोरोनाले आक्रान्त हुदै गर्दा दशैमा शहरबाट गाउ पस्ने हो भने गाउ पनि कोरोनाले सखाप बनाउनेछ! आउजाउमा रोक लगाउनु पर्दछ नत्र १ लाखबाट कोरोना बिमारी दशै पछि १ करोड पुग्न सक्छ। बाचे दशै अर्को साल मनाउदा हुन्छ। कोरोना संग दशै नमनाउ। यसपालि को दशै कोरोना लाई छोडि दिउ , अर्को बर्ष धुमधाम मानौला !
सबैमा हार्दिक शुभकामना

प्रतिक्रिया दिनुहोस