सरकारी कम्पनीले ल्याएका खसीबोकाको आजदेखि बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसीबोका बिक्री सुरु गरेको छ । खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको छ । जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो । अरु खसीबोका पनि बिस्तारै ल्याउने उनले बताए ।

यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने खनालले बताए । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस