एकतर्फी माया (भाग १)

काठमाडौं । रातको ९ बजेको थियो । भदौको महिना , बाहिर निकै नै ठुलो झरी परिरहेको थियो । झरी संग संगै हावा पनि उत्तिकै । अरु दिनको तुलनामा मौसम अलि चिसो थियो । निकै बेर देखि निदाउन प्रयत्न गर्दै थिए , तर निन्द्रा पटक्कै लागेको थिएन । सिरानी छेउमा हात लगाए , मोबाईल त्यहाँ थिएन । मोबाईल चलाउने विचार मनमा ल्याईसकेको थिए , नचलाई मनले मान्नेवाला पनि थिएन । उठेर कोठाको बत्ती बाले । ब्ल्यान्केटले पो कतै किचेको छ कि भनेर ओछ्यन तिर पनि हेरे। अहँ त्यहा थिएन । भुईँतिर नजर पुर्याए , मेरो मोबाईल भुइँमा बेहोसिएको थियो । सिरानी छेउमा राखेको मोबाईल , भुईँमा कसरी आईपुग्यो , एक्छिन त आफुले आफैसंग प्रश्न गरे ? निन्द्रा नलागेर छटपटिदा सायाद झर्यो होला । हातमा मोबाईल लिए , स्विट्च अफ भएको रहेछ ।

स्विट्च अन गरे । एकफेर फेस्बूक खोले । २४८ जना अनलाईन रहेछन , २/४ जनालाई मेसेज गरे । कसैले रिप्लाई गरेनन । अब के गर्ने त ? सबै व्यस्त छन , म चाहिँ कति धेरै फुर्सद भएको त , व्यस्त हुनलाई के गरुँ ? सुतौँ , निन्द्रै लागेको छैन । ग्याम खेलौँ , मोबाईल ह्याङ भएर चल्दै चल्दैन । कसै संग बोलौ , बोल्नेहरुको अनिकाल लागेको छ ? भिडियो हेरौँ , गित सुनौँ त्यो विषयमा चासै नराख्ने मान्छे परे । आखिर गर्ने चाहिँ के ? बिगत सम्झिउँ कि भविस्यको परिकल्पना गरौँ ?

दिलभित्र बाट आवाज गुन्जियो , विगत सम्झि अनि त्यो समयमा निम्तिएका पीडादायक क्षणहरुलाई भविस्यमा फेरि कहिल्यै आउन नदे ।

विगत । अरुको त भन्न सक्दिन तर मेरो भने सार्है नमिठाे थियो । खल्लो तरकारि जस्तो । तरकारिमा नुनको कमि हुदा पूरा तरकारी बेस्वादिलो हुन्छ । हो त्यसै गरि मेरो जिन्दगी पनि वेस्वादिलो भएको छ, केवल एकजनाको कमिले ।

अचानक मेसेन्जरमा ४ दिन अगाडि मैले पठाएको मेसेजको रिप्लाई आयो । हेल्लो , हाउ आर यु ?

मेरो हाई वाला छोटो मेसेजको रिप्लाई गर्न नि ४ दिन लगाउने मान्छे मामुलि थिएन । उसो त मैले उसले अन्ब्लक गरे पश्चात् hy , please एकचोटि बोलिदेउ न , एकपटक मलाई कल गर न , या तिम्रो नम्बर देउ न भनेर कैयौ पटक मेसेज गरेको थिए । तर त्यो दिन लगभग २ वर्षको अन्तरालमा उसले पहिलोचोटि रिप्लाई गरेकी थिइ ।

मैले ढिलासुस्ती नगरी जवाफ फर्काए , “बाँचेकै छु अनि तिमी ?”

सेम । यसपटक भने केही बेरमै प्रतिक्रिया आयो ।

अनि के गर्दै छौ ?

यत्तिकै बसिरहेको तिमी ?

म पनि , कलेज लाग्दैछ तिम्रो ?उसले सोधी ।

उम , लाग्दैछ ।

ए ? कल गरुम ?

उसको त्यो अन्तिम मेसेजले एक्कासी म भित्र एक किसिमको नया उर्जा ल्याईदियो । मनमा थोरै डर , ज्यादा खुसी अनि जिज्ञासा पलाएर आयो ।

“नम्बर छ र मेरो तिमी संग ?” मैले अचम्मित हुँदै मेसेज गरे ।

दिन्नौँ ? उताबाट उसले तत्कालै रिप्लाई दिई ।

२ वर्ष पछि उसले म संग केही माग्दै थिइ , उसले केही मागोस , अनि म नदिउ , यस्तो हुनै सक्दैन थियो । मेरो दिल त दुखाएर गएकि थिइ उ , तर म उसको इच्छा विपरित गएर उसको दिल दुखाउन चाहन्न्थे । नम्वर दिए । केही बेरमै उता बाट फोन गरि । यसो नम्बर हेरे , चेन्ज गरेकि रहिछे । पहिलाको नम्बरको अन्तिमको दुई अङ्क ७६ थियो , अहिलेकोमा २१ । मनमनै भने , नम्बर पनि कति फेर्न सकिके होलि ?

कल रिसिभ गरे । पहिला उ बोलोस भनेर प्रतीक्षामा थिए । सायद उ पनि पहिले म बोलुँ भन्ने प्रतीक्षामा हुँदी हो । केही क्षणको मौनता तोड्दै म नै अघि बोल्न तम्सिए ,” हेल्लो ” ।

उताबाट केही जवाफ नै आएन । कतै फोन काटिएको पो हो कि भनेर एक नजर मोबाईलमा पुर्याए । फोन रिसिभ गरेको १ मिनेट १७ सेकेन्ड भैइसकेको थियो ।

“नबोल्ने हो भने फोन किन गरेको ?” मैले
अलिकती रिसाएजसरि भने ।

“त्यस्तो होईन , के बोलुँ बोलुँ भयो , त्यहीभएर ।”

“भनेपछि म संग कुरा गर्न हजुरलाई कारणको आवश्यक पो पर्न थाल्यो ?”

त्यस्तो होईन हौ , तिमी अलि बढी नै बुझ्छौ क्या ?

“अचेल झन अलि बढी नै बुझ्ने भएको छु । पहिला नासमझ थिए अहिले सम्झ्दार भएको छु ।” एउटा #dialogue हान्नु त जरुरी नै थियो र हानी पनि दिए ।

उसले अचानक फोन गर्नुको कारण अझै रहस्यमय नै थियो । बिना कारण उसले म संग नम्बर मागेर मलाई फोन गरे जस्तो लाग्दै लागेन । मलाई फोन गर्नुको पछाडी केही न केही स्वार्थ त लुकेकै थियो ।

“अनि किन फोन गर्यौ त ? केही त्यस्तो विशेष ?” मैले फेरि भनेँ । त्यसरी भन्न हुन्थ्यो या हुदैन थियो , केही सोचविचार नै गरिन ।

त्यस्तै हो भने मैले पनि त तिमिलाई मेसेज पठाउनुको विशेष कारण सोध्न सक्थे । सोधिन नि । तिमी चाहिँ फोन गर्नुको कारण किन सोध्छौ ?

उसको यो जवाफले एक्छिन म अक्मकिए । मेरो शब्दको भकारिमा अचानक शब्दहरु रित्तिए । के बोलौ बोलौँ भयो । निकै बेर सोचे , लायकको जवाफ नै भेटिन । मौन भए ।

“के भयो ? किन साईलेन्ट ?” उसले फेरि सोधी ।

“त्यस्तो हैन । अनि अचेल कहाँ पढ्दैछौ ?” मैले सोधे ।

“यहिँ इनरुवा मै ।”

“बिचमै क्याम्पस छाड्नु हुदैँन थियो तिमिले ? गल्ती गर्यौ ।” सम्झाउन खोज्दै भने ।

“थिए त्यस्ता धेरै कुरा , जसको कारणले म त्यो कलेज , त्यो ठाउ छाड्न मजबुर भएको थिए । केही तिमिलाई बताएकी थिए ,केही बताउनै सकिन ।”

“भन्न मिल्छ भने सेयर गर । थोरै आसावादी हुँदै भने ।”

कुरालाई अर्कै तिर बङाउदै भनी ,” के तिमिलाई याद छ हामी किन बोल्न छाडेका थियौ भनेर ?”

म कसरी पो बिर्सन सक्थे र ती पलहरु , जहाँ उ म बाट टाढीएकि थिई । जहाँ हाम्रो सुरु हुन लागेको सम्बन्धको आयु सकिदै थियो । उ म बाट अचानक टाढीएकि थिइ ,त्यो विषयमा केही कुरै गर्न चाहिन । कुरालाई अन्तै तिर मोड्दिए ।

“तिमी ब्याच्लरमै हो र अहिले ?” दोधारमा पर्दै सोधे ।

“हैन ,१ यियर लस भयो , जनता बाट गएर ।” उसको आवाजमा कता कता पस्चतापको भाव झल्किरहेको थियो ।

“छाड्नु हुँदैन थियो तिमिले क्याम्पस ।”

“फाइनल परिक्षा दिएकै थिइन , फेरि ११ दोहोर्‍याए , त्यहाँ बस्न मन पनि थिएन , छाडेर राम्रै भयो ।” उ गर्व साथ भन्दै थिइ मानौ कि उसले निकै नै ठुलो काम गरेकी हो ।

“तिमिलाई राम्रो , नराम्रो के भयो थाहा छैन तर एकजनालाई भने तिम्रो अनुपस्थिततीले सार्है मर्कामा पारेर छाड्यो ।”

“एकजना ? यु मीन ?” उसले सोधी ।

म मौन भए । एकजना अर्थात त्यो म थिए । त्यो कुरा उसलाई पनि थाहा थियो । सायद आफ्नो नाम मेरो मुखबाट ओकाल्न चाहन्थी होला र त उ सबै कुरा थाहा पाउँदा पाउदै पनि त्यसरी प्रश्न गरिरहेकी थिइ । अन्जान बनेर अरु केही हैन उ नाटक गरिरहेकी थिइ ।

“को हौ त्यो एकजना ? भन न , कुरा निकाली हालेउ ?” उसले ढिपि गर्न थाली ।

क्रमश……..

( केटाको जवाफ के हुन्छ होला त ? के साच्चै नै उसले त्यो एकजना अरु कोहि नभएर आफू नै हो भन्न सक्ला त ? थप रहस्य जान्नको लागी भोलि बेलुका भाग २ पढ्न नछुटाउनु होला ।)

(कहानीका पात्र , ठाउँ , घटना सबै काल्पनिक हुन । कसैको जिवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ । )

प्रतिक्रिया दिनुहोस