दाङको सिस्ने खाेलाले कार बगाउँदा ४ जनाकाे मृत्यु

दाङ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको ज्यान गएको छ । यसअघि दुई जनाको शव भेटिएको थियो भने दुई जना हराइरहेका थिए ।

घाेराही ४ स्थित बुधबार राति बाढीमा बेपत्ता भएका अर्का दुई जनाको पनि बिहीबार बिहान शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।

भारतसँगको नाका रुपैडियाबाट तिजका लागि सामान किनमेल गरेर फर्कँदै गर्दा प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो ।

यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि ज्यान गएको छ । कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।

पुनको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले उपचार भइरहेको दाङ प्रहरीले जनाएको छ । निर्माणाधीन पुलकाे काम समयमा सम्पन्न नहुँदा नागरिकको अकाल ज्यान जाने गरेको छ भने कैयाैले सास्ती भाेग्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस