काठमाण्डौं । आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साहले अब देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरुको सफाया गर्ने समय आएको बताएका छन् ।
बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा आफ्नो धारणा राख्दै संयोजक साहले भने, “भ्रष्टाचार आजको २१औं शताब्दीमा मानव समाजमाथिको सबैभन्दा ठुलो कलंकको धब्बा हो । राज्यको हरेक अंग तथा निकायहरुमा तलदेखि माथिसम्म भ्रष्टाचारले आफ्नो जड जमाई देशलाई नै खोकला बनाउदै गएको स्थिति छ । यसलाई रोक्न मुख्यतः तपाई हामी युवा वर्ग अग्रसर हुनैपर्छ । जसका लागि देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जडबाटै सफाया गर्न जरूरी छ ।”
युवा नेता साहले अगाडि थपे, “प्रतिक्रियावादी तत्वहरुले समाजमा फैलाएको भ्रम, द्वन्द्व र विभाजनको स्थितिलाई अन्त्य गर्दै आम जनतालाई सुचना प्रविधिको साहयताले सु-सुचित (जानकर), सचेत (जागरूक) एवं संगठित (एकताबद्ध) गरी राज्यको शासन सत्तामा आम जनताको सहभागिता र उत्पादनमा श्रमिक/सर्वहारा वर्गको स्वामित्व स्थापित गर्दै देशमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवं विकास सहित मुलुकलाई सफल देशको रुपमा स्थापित गराउन समेत देशलाई निरन्तर अग्रगमनको दिशामा अगाडि बढाउदै समाजवादको मजबूत आधार खडा गर्नुपर्ने आजको तपाई हाम्रो मुख्य अभिभारा र समाजको अपेक्षालाई पुरा गर्न समेत आईटी आर्मीले विशेष जिम्मेवारीबोधका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने समय आएको छ ।” यसका लागि स्वदेश तथा परदेशमा रहेका सम्पुर्ण देशभक्त, न्यायप्रेमी, प्रगतिशील एवं परिवर्तनकारी शक्तिहरु सचेततापूर्वक गोलबन्द भई आ-आफ्नो स्थान र स्तरबाट उल्लेख्य योगदान गर्न संयोजक साहले कार्यक्रम मार्फत आमजनतामा अपील समेत गरेका छन् ।
आज बसेको आईटी आर्मीको बैठकले १ महिना ११ दिनको कार्य प्रगतिको विशेष समिक्षा गरी संगठन विस्तारलाई थप तीव्रता दिन कार्य विभाजन समेत गरेको छ ।