वाइसिएल नेपालको नयाँ केन्द्रीय समिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनेरै नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

वाईसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसियलका ईन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन । इन्चार्ज सापकोटाका अनुसार वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन । गत शनिबारबाट शुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गर्नु भएको थियो ।

तर सहमती जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस