काठमाडौँ। सरकारले सात वटै प्रदेशमा प्रसुति तथा स्त्रीरोग सम्बन्धी सेवा विस्तार गर्ने योजना बनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सातै प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभ भएको हो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । दूरदराजका जनता अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले कोरोनाविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।
अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।