सिसडोलसम्म पुग्ने सडक तत्काल निर्माण गर्न सडक विभागलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको सिसडोलसम्म पुग्ने सडक तत्काल निर्माण गर्न सडक विभागलाई निर्देशन दिनुभएको छ ।

सोमवार काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलीले सिसडोल जाने सडक मर्मत नहुँदा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उब्जिएको अवगत गराएपछि प्रधानमन्त्री देउवाले सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभएको हो ।

उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिनुभएको शाक्यले जानकारी दिनुभयो । देउवालाई भेट्न मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुग्नुभएको थियो ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो । सडक निर्माणका लागि लाग्ने खर्च भने महानगरले नै व्यहोर्ने शाक्यले बताउनुभयो । सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् ।

भेटमा शाक्यसहितको प्रतिनिधिमण्डलले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस