कांग्रेसमा जुट्यो सहमति, महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइ सम्बोधन हुने

काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडलले पार्टी सभापति शेरबहादुर देउवासँग हिजोको भेट बारे बिफ्रिङ गर्नु भएको छ ।

पार्टीका सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच हिजो भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको बताइएको छ । पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारी हिजो बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो ।

कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन् । कांग्रेस नेता कृष्ण सिटौला, डा.मिलेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले आज दिनभर गृहकार्य गरेर जिल्ला सभापतिहरुको अनशन तोडाउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस