देउवाको दौराको फेर समातेर माझण्डहरूको कम्फर्टेबल यात्रा

पुष्कर कडेल/काठमाडौं । हिन्दीमा एउटा भनाई छ, “पुरानी बात भूल जाओ, अतीत पर ध्यान मत दो।” नेकपा एमालेको हकमा यो भनाई लागु होला कि नहोला भनेर आम प्रगतिकामी जनता, कार्यकर्ता र नेताहरू प्रतिक्षा गरेर बसेका छन्। जनादेशलाई प्रतिगमन देख्ने र परमादेशलाई अग्रगमन ठान्ने पात्रहरू र तिनका मुख्य नाईके माधव नेपालभने पार्टी विभाजनको साइत कुरेर बसेका छन्। सत्ता गठबन्धनका मुख्य योजनाकार प्रचण्ड पनि नेकपा एमालेमा विभाजन ल्याउन माधव नेपाललाई आँट गर भन्दैछन्। किनभने ‘कम्फर्टेबल’ सरकार टिकाउन महन्थ पक्षभन्दा माधव पक्ष बढी ‘कम्फर्टेबल’ हुने निष्कर्षमा प्रम देउवा पुगेका छन्। त्यही निष्कर्षअनुसार प्रचण्ड नियमित रूपमा माधव नेपालसँग संवादमा छन्। मापशे मोर्चा अर्को चुनावसम्म मात्र होइन अरू सात वर्ष कायम रहन्छभनेर माओवादी नेताहरू भन्दैछन्। अब यति स्पष्ट भइसक्दा पनि  एमालेको संस्थापन पक्षभने अझ माधवको मन फर्किन्छ कि भनेर प्रयास गरिरहेका छन्।

विभाजन नै नभएको पार्टीमा एकताको कुरा गरेर विभाजनको तयारी भइरहेको छभनेर संस्थापन पक्षका नेताहरूले किन बुझ्दैनन् रु माधव नेपाल एमाले विभाजनको बलियो वैधानिक आधार तयार नहुञ्जेल सर्तमाथि सर्त तेर्स्याएर वार्ताको नाटक गरेर समय घर्काउने र विवाद बढाउने काम गरिरहेका छन्। उनको रणनीति आम कार्यकर्ताको मन भ्रमित र विभाजित बनाउँदै पार्टी विभाजनमा बढीभन्दा बढी कार्यकर्ताको साथ लिने देखिन्छ। अन्यथा यो खालको ल्याङ–ल्याङ  गर्ने थिएनन्।

नेपालमा नियन्त्रित अस्थिरता पुनःस्थापित गर्न प्रधानमन्त्रीको पदबाट केपी ओलीलाई हटाउने एक वर्षदेखिको प्रयास सफल भएपछि कम्फर्टेबलवादीहरू उत्साहित भएका छन्। परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि अब केपी ओलीलाई कमजोर नबनाई वामपन्थी आन्दोलन खतम बनाउन र कम्फर्टेबल सरकार टिकाउन सकिंदैन भन्ने निष्कर्षका साथ सके एमालेबाट ओलीलाई हटाउने नसके एमाले फुटाउने रणनीतिबमोजिम मापशे मोर्चाले माधव नेपाललाई आडभरोसा दिएको छ। त्यसलाई बुर्जुवा मिडियाहरूले बजारीकरण गरेर सहयोगमात्र गरिरहेका छैनन्, एमाले विभाजन गर्ने वातावरण पनि बनाइरहेका छन्। धोखा र षडयन्त्रबाट प्राप्त शक्तिले केही समयमात्र काम गर्छ भन्ने कुरो मापशे मोर्चाका नेताहरूले बुझ्न सकिरहेका छैनन्। अनि त उनीहरू परमादेशबाट प्राप्त उपलब्धिलाई महान भन्दैछन्।

माधव नेपाल खराब सँगत र नियतका साथ खराब राजनीति गरिरहेका छन्। उनले भन्ने गरेका विधि, पद्धति र निष्ठाले बुर्जुवाहरूको मनोबलमात्र बढाएको छैन्, नेपालको आन्तरिक मामिलामा बाह्य पक्ष खासगरी दक्षिणको हस्तक्षेप बढाउने आधार तयार गर्दैछ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने काम ऐतिहासिक भूल थियो तैपनि पार्टी अध्यक्ष केपी ओलीले एकपटक सबैलाई आममाफी भन्दा त्यसलाई माधव नेपालले राजतन्त्रको रूप भनेर खिसिट्याउँरी गरे। यसबाट स्पष्ट हुन्छ, माधव नेपाल नेकपा एमाले फुटाउन प्रतिबद्ध छन्। डा.केशरजंग रायमाझीले गरेको गद्दारीको आलोचना गर्ने माझण्डहरू अहिले त्यो बेलाको भन्दा ठूलो गद्दारी गरेर नेपालको प्रगतिशील लोकतान्त्रिक आन्दोलन र त्यसको मुख्य नेतृत्वलाई बदनाम गर्न रमाउँदैछन्। तर पनि उनीहरू आफूलाई सच्चा कम्न्युनिष्ट भएको दावी गर्न छोड्दैनन्। यो खालको विरोधाभाषपूर्ण बोली र व्यवहार देख्दा–देख्दै पनि केही नेता तथा कार्यकर्ताहरू तिनैलाई आदर्श मानेर सार्वजनिक रूपमा प्रस्तुत भएको देख्दा लाज लाग्छ। नेपालको वामपन्थी राजनीतिमा माधवहरूले पछिल्लो समय खेलेको भूमिका क्षम्य प्रकृतिको नहुँदा–नहुँदै पनि केपी ओलीले आममाफीको घोषणा गर्दा त्यसलाई माझण्डहरूले ओली गलेको भनेर प्रचार गर्दैछन्। केपी ओलीले अडान लिंदा जिद्दी हुने अनि लचक हुँदा गलेको ठान्ने चेतनालाई कठैमात्र भन्न सकिन्छ।

डा। केशरजंग रायमाझीलाई चिन्न हामी नेपालीहरूलाई एक दशक लागेको थियो। तर माधव नेपाललाई चिन्न त चार दशकभन्दा बढी समय लाग्यो। प्रचण्डलाई त भारतले तयार गरेर पठाएको मुख्य पात्र होभनेर नारायणमान विच्छुकेले बारम्बार भनेकै छन्। उनका अनुसार माधव–प्रचण्डहरू कम्न्युनिष्ट नै होइनन्। उनीहरू कम्न्युनिष्ट नकाव लगाएका दक्षिणपन्थी बुर्जुवा हुन्। सिपी मैनालीका अनुसार यी दुई पात्रहरू ईण्डो–वेष्टको प्रतिनिधि हो भन्छन्। त्यसैले  नेपालको कम्न्युनिष्ट आन्दोलनभित्र छिरेका खलपात्रहरूले षडयन्त्रपूर्ण तरिकाबाट कम्न्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर बुर्जुवा दक्षिणपन्थीको नेतृत्वमा सरकार बनाउन भूमिका खेले। त्यसलाई ओली युगको अन्त्य भन्दै रमाएनन् मात्रै लोकतान्त्रिक प्रगतिशिल आन्दोलनप्रति गद्दारी पनि गरेर त्यसलाई महान उपलब्धि भन्दैछन्।

लोकतन्त्रमा,
देउवालाई शिरमा राखेर
हिंड्नेहरू आज
बुर्जुवाहरूको नजरमा अग्रगामी भए।

जनादेशलाई पश्चागमन भन्दै
मापशे मोर्चाले
परमादेशलाई अग्रगमन ठाने।

कांग्रेसलाई सत्ता सुम्पिएर
माझण्डहरूले
बलियो कम्न्युनिष्ट पार्टी बनाउन खोजे।

एमालेमा एकता भन्दा भन्दै
खलनायकलाई
मनाउन समय र सामर्थ्य खेर फाले।

रामबहादुर थापाले भनेजस्तो शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नु, सहयोग गर्नु र विश्वासको मत दिनु गल्ती होइन, अपराध हो। त्यो अपराध गर्न उक्साउने मुख्य खलपात्र माधव र प्रचण्ड नै हुन। माझण्डहरूले गरेको त्यो अपराध तिनलाई स्विकार्न लगाएर अपराधबाट मूक्त गर्ने प्रयास पनि भइरहेका छन्। तर यो प्रयासले वामपन्थी आन्दोलनमा पुगेको क्षति न्युन हुनेवाला छैन् किनभने २०५४ सालमा पार्टी फुटाएर २०५८ सालमा फर्किएकाहरूका कारणले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा एमालले लज्जाजनक हार व्यहोर्न परेको इतिहास साक्षी छ।

२०५४ देखि २०५८ मा नेकपा एमाले कमजोर बनाउन ज–जसले मुख्य भूमिका खेलेका थिए, अहिले फेरि तिनै खल पात्रहरूले एमालेमा विभाजन ल्याउने प्रयास गरिरहेका छन्। उनीहरू मकसद वामपन्थी जनमत विभाजित बनाउँदै बुर्जुवाहरूलाई सत्ताको यात्रा सहज बनाउनु देखियो। नेपालको वामपन्थी आन्दोलन र राजनीतिलाई बदनाम गराउँदै कमजोर बनाउन माधव नेपाल नियोजित रूपमा प्रयोग गरिएका पात्र रहेछन् भनेर अहिले प्रमाणित हुँदैछ। अहिले  केही मान्छेहरू माधव नेपालको रूप पक्ष हेरेर वाहवाही गर्दैछन्, जबकी सार पक्षका बारेमा जानकार छैनन्। त्यसैले उनीहरू भ्रमबस माधवलाई आदर्श मानेर पछि लागेका छन्।

सामाजिक सञ्जालमा भेटेको तलको भनाईले माधव नेपालप्रति आममान्छेको धारणाको प्रतिनिधित्व गर्छ।
महाराजधिराजलाई दाम चढाउनेको कुरै ठूलो
देउवालाई प्रम बनाएको पापले सकिन्छन् बुढो!

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकेकोमा माझण्डहरू अझै पनि गौरवान्वित भएर सार्वजनिक अभिव्यक्ति दिईरहेका छन्। त्यसको मूल नेतृत्व क्रान्तिकारी कहलिएका पुष्पकमल दाहाल ९प्रचण्ड० र निष्ठावान माधव कुमार नेपाल अर्थात माझण्डहरूले गरिरहेका छन्। लालबाबु पण्डितको भाषामा माझण्डहरू व्यहोरा र व्यवहारले बिग्रेका कम्न्युनिष्ट हुन भन्ने प्रमाणित गर्छ। यीनका कारणले केपी ओली प्रमबाट हट्न बाध्यमात्र भएका छैनन् नेपालको कम्न्युनिष्ट आन्दोलनले धक्का पनि खाएको छ। तर माझण्डहरू खुसी भएर परमादेशबाट देउवाको नेतृत्वमा कथित अग्रगमनको  यात्रा गर्दैछन्।

शंकर पोखरेल लेख्छन्, ‘जब कुनै व्यक्ति गम्भीर प्रकारका गल्ती र कमजोरीको बोझले थिचिन्छ तब उसको चरित्रमा अस्वभाविक बदलाव देखिन्छ।’ त्यो बदलाव मैले माधव कुमार नेपालमा २०७३ सालदेखि नै देखेको छु। माधव कुमार नेपालको पृष्ठभूमि, चिन्तन र सँगतले आज उनलाई बुर्जुवाको मतियार अनि उपयोगितावादको हतियार बनायो। त्यही भएर माधव नेपालले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजेका थिए। तर पनि मुख्य कारण ओलीको राजनीतिक तथा सामाजिक पृष्ठभूमि हो। केपी ओलीले आफ्नो राजनीतिक जीवनको सुरूवात अर्काको घरमा काम गर्दै वर्गीय रूपमा कामदार वर्गको प्रतिनिधित्व गरेर पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसम्म बने। जुन पार्टीभित्रका मध्यम वर्ग र पार्टी बाहिरका सबैखाले बुर्जुवाहरूका लागि त्यो सह्य भएन। गाठी कुरो त्यही थियो, तर माझण्डहरूले त्यसलाई शब्दजाल प्रयोग गरेर उल्टै केपी ओलीलाई कम्न्युनिष्ट विरोधी बनाउन खोज्दैछन्।

शंकर पोखरेल भन्छन्, ‘केपी ओलीलाई सत्ताबाट हटाउन जे जे भन्नु आवश्यक थियो भनियो, तर सत्य अर्कै थियो। अब क्रमशः प्रकट हुँदै जानेछ र जाँदैछ।’ बुर्जुवा खेमालाई थाहा थियो, केपी ओली नढाली सत्तामा पुग्न सकिंदैन। फेरि ओलीलाई ढाल्न बाहिरबाट सम्भव पनि छैन्। यसका लागि हिजो नेकपा र आज नेकपा एमाले हुँदा त्यसभित्र भएका ओली विरोधीहरूलाई प्रयोग गर्नुपर्छ। त्यही रणनीतिबमोजिम माझण्ड समुह बनाएर ओलीका विरूद्ध गतिविधिहरू गरिए। त्यसलाई बलियो बनाउन पछिल्लो समयमा नेकालाई पनि मिलाएर मापशे मोर्चा नै बनाइयो। न्यायलयले परमादेशमार्फत गरेको न्यायिक ‘कु’ पनि त्यसकै एउटा बलियो प्रमाण हो।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेल्नेदेखि लिएर विश्वासको मत दिनेसम्मको काम गरिसकेपछि माधव नेपाललाई एमाले भनिरहनु पर्दैनथ्यो। नेका नेता तथा कार्यकर्ताहरूले जय नेपालको सट्टामा जय माधव नेपाल भन्न थालिसकेका छन्। तर पनि उनलाई एमाले बनाउन सकिन्छ कि भनेर केही मान्छेहरू व्यर्थको प्रयास गरिरहेका छन्। म यसलाई विडम्वना नै ठान्छु। किनभने माधव नेपाल विधिवत रूपमा एमाले छोड्ने मौका हेर्दैछन् भने उनका पछि लाग्ने एकथरी नेताहरू एमालेमा नै भविष्य देख्दैछन्। त्यसैले माधव नेपाललाई बढी भाउ दिइरहनु भनेको अर्को आत्मघाती गोल खान तयार हुनु हो।
आजको सत्य माधव नेपालका कारणले नेकपा एमाले सत्ताबाट बाहिर बस्न बाध्य भएको हो। यो सत्य नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ। अनि यो कुरो जनतालाई पनि बुझाउनु पर्छ। मूलधार भनिएका बुर्जुवा मिडियाहरूले माधव नेपाल ठीक ओली बेठीक भन्दैमा त्यसलाई विश्वास गरेर जनमत प्रभावित पनि हुँदैन्। केही हदमा जनमत प्रभावित होला, त्यसलाई तथ्य र तर्कले हटाउनु पर्छ। कार्यकर्तादेखि जनपरिचालनको रणनीति बनाएर माझण्डहरूले गरेका अनैतिक राजनीतिक हर्कत र न्यायलयले गरेको असंवैधानिक फैसलाको भण्डाफोर गर्नुपर्छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दौराको फेर समातेर संविधान र लोकतन्त्र जोगाउन प्रतिबद्ध पात्रहरू र तिनका नाईकेहरूलाई मनाउन र कम्न्युनिष्ट अर्थात एमाले बनाउन समय र सामार्थ्यहरूको खर्च गरिरहनुको कुनै अर्थ छैन्। त्यतिखेर प्रचण्डको आरोपपत्रमा साक्षी बस्नेहरू यतिखेर एमालेमा विभाजन ल्याउन जोडबल गर्दैछन्। बुद्धिमानले संकेतहरूबाट कुरो बुझ्नुपर्छ। अन्यथा बेईमान र बापतिहरूबाट वामपन्थी आन्दोलनलाई जोगाउन सकिदैन्। त्यसैले सच्चा एमालेहरूले विभाजनमा रमाउने पात्र र प्रवृत्तिहरूलाई बहिष्कार गर्दै एकताको झण्डा उठाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस