सम्पर्कविहीन रहेको भनिएकी सांसद वली ‘बिरामी भएर’ घरमै: तुलाराम घर्तीमगर

बुटवल । शुक्रबार बिहानदेखि सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) बिरामी रहेकोले उपचारमा रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको जानकारी पाएको बताए। ‘उहाँसग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन, तर पारिवारिक स्रोतबाट बिरामी रहेको र उपचारमा रहनुभएको छ भन्ने जानकारी पाएका छौं, घर्तीमगरले भने।

घर्तीमगरका अनुसार बिहीबार साझसम्म सम्पर्कमा रहेकी वलीले शुक्रबार बिहानदेखि फोन उठाएकी छैनन्। शुक्रबार दिउँसोदेखि नै वली सम्पर्क बिहिन रहेको समाचार बाहिर आउन थालेपछि उनी बिरामी रहेको पारिवारिक स्रोतबाट जानकारी पाएको घर्तीले बताए।

वली बिरामी रहेको जानकारी पाए पनि के भएको हो र कहाँ उपचार भइरहेको छ भन्ने जानकारी नभएको घर्तीले बताए। लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको र सत्ता जोगाउन प्रदेससभा सदस्यहरूलाई आफ्नो पक्षमा पार्न सरकार सांसद खरिद-बिक्रीमा लागेको विपक्षी गठबन्धनले आरोप लगाउँदै आएको छ।

यसअघि पनि जनता समाजवादीकी सांसद पुर्मती ढेंगामगर सम्पर्कविहीन रहेको र उनलाई सत्तापक्षले अपहरण गरेको विपक्षी गठबन्धनले आरोप लगाएको थियो।

केही दिन सम्पर्कविहीन रहेको भनिएकी ढेंगामगर घुम्न भारत गएको भन्दै सम्पर्कमा आएकी थिइन्। यसअघि वैशाख ६ गते पनि सांसद वली बुटवल बेलबासबाट अपहरणमा परेको सत्तापक्षले नै बताएको थियो।

पछि सांसद वली आफैंले पत्रकार सम्मेलन गरी आफू कुनै अपहरणमा नपरेको र सत्तापक्षले सत्ता जोगाउने खेलमा अपहरणमा परेको हल्ला फिजाएको बताएकी थिइन्।

पति उत्तरकुमार वलीको मृत्युपछि भएको उपनिर्वाचनमादाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उनी प्रदेश सभा सदस्य चुनिएकी हुन्।

एमालेबाट निर्वाचित उत्तरकुमार वलीको सडक दुर्घटनामा परी मृत्यु भएपछि तत्कालीन नेकपाले उपनिर्वाचनमा पत्नी बिमलालाई निर्वाचनमा टिकट दिएको थियो।

उत्तरकुमार वली एमालेबाट निर्वाचित भए पनि आफु नेकपाबाट निर्वाचित भएको भन्दै बिमलाले नेकपा विभाजनपछि वैशाख ६ गते पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस