अन्तरजातीय विवाहः समाजले स्वीकार नगर्दा समस्या

खिलानाथ विक/विजयपुर। अन्तरजातीय विवाहलाई कानुनी रूपमा मान्यता दिए पनि अहिलेसम्म समाजले स्वीकार गर्न सकिरहेको छैन।

अहिले पनि अन्तरजातीय विवाह गर्ने जोडी कुनै न कुनै रूपमा पीडा खेपी नै रहेका छन् । समाजको नेतृत्व गर्नेहरूले नै दलित र गैरदलितबीच भएका विवाहलाई स्वीकार गर्न सकेका छैन्् । गैरदलितका नेतृत्व तहमा रहनेहरूले विभेद गर्ने गरेको अन्तरजातीय विवाह गर्ने दम्पतीहरूको अनुभव छ ।

धरान–१५ की शारदा मास्केको २०५७ सालमा धरान–१५ का टङ्कबहादुर विश्वकर्मासँग प्रेम विवाह भयो । उनले विश्वकर्मासँग विवाह गर्छु भन्ने सोच समेत नभएको बताइन् । विवाहपछि आफूले चाहेको जीवनसाथीसँग सुखमय जीवन बिताउने सपना थियो । विडम्बना अन्तरजातीय विवाहका कारण परिवारदेखि समाजसम्म बहिष्कृत हुनुप¥यो । विवाहपछि धेरै पीडा भोगेकी उनले भनिन्, ‘विवाहपछि म मानव नै होइन जस्तो ग¥यो समाजले ।’

परिवारले भन्दा पनि आफ्नो समुदायका बुद्धिजीवी भनिनेहरूले परिवारलाई समेत विभेद गर्न बाध्य बनाएको उनको बुझाइ छ । दलित ज्वाइँ वा बुहारीलाई आमाबुबाले स्वीकारे पनि दाजुभाइ तथा समाजबाट बहिस्कृत हुने डरका कारण परिवारले स्वीकार गर्न नसकेको उनको बुझाइ छ । हाल केही परिवर्तन आए पनि अहिले पनि सहज रूपमा स्वीकार नगर्ने गरेको मास्केले बताइन् । उनले दलितसँग विवाह गरेपछि परिवारले ३ पटकसम्म छुटाएको तर, आफू नमानेको बताइन् ।प्रहरीले समेत दलितसँग विवाह गरेकाले पटक–पटक फर्कन दबाव दिएको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘प्रहरीले यत्रो पढेकी मान्छे, यस्तो सम्पन्न परिवारकी छोरी नबस भन्दै छुटाउन खोजे ।’ उनले दलितभित्र पनि विभेद रहेछ भनेर विवाहपछि मात्र थाहा पाएको बताइन् । अहिले आफ्नै परिवारमा पनि दलित(दलितबीचको अन्तरजातीय विवाहलाई स्वीकार नगरेको बताइन् । उनले विगतलाई स्मरण गर्दै भनिन् ‘दलितमा पनि गरिब भएपछि झन् समस्या आउने रहेछ ।’ विवाह पछि वैदेशिक रोजगारमा समेत गएकी उनको हाल भने माइतीपक्षसँग पनि राम्रो सम्बन्ध रहेको बताइन् ।

तीस वर्षअघि मीनबहादुर विश्वकर्मासँग अन्तरजातीय प्रेम विवाह गरेकी निरू पौडेल अन्तरजातीय विवाह दलितभित्रै पनि स्वीकार नहुने गरेको बताउँछिन् । उनले अन्तरजातीय विवाहमा आफूभन्दा ‘माथिल्लो’ जातिको भएमा सम्मान गर्ने र ‘तल्लो’ जाति भएमा अपमान गर्ने प्रचलन दलित समुदायभित्रै पनि रहेको बताइन् । मीनबहादुर विश्वकर्माले क्याम्पस पढ्ने क्रममा एकअर्कालाई माया गर्न थाले पनि जातकै कारण घरपरिवारलाई भन्न नसक्ने अवस्था रहेको तर दुवैजना शिक्षित भएकाले विवाह सम्भव भएको बताए ।

दलित विकास समिति धरानले आइतबार अन्तरजातीय विवाह गर्नेलाई एक कार्यक्रम गरी सम्मान गर्दा उनीहरूले आफ्ना मनका बह पोखे । सम्मानित हुने दम्पतीहरूमा धरान–९ का रामकुमार दास र आशा लिम्बू, धरान–१२ का धर्मराज परियार र तुलसी श्रेष्ठ, धरान–१३ का रामबहादुर रम्तेल र माया भुजेल, धरान–६ का दुर्गाबहादुर विश्वकर्मा र सीता धमला, धरान–१३ का सुशिल राई र समीक्षा रत्न नेपाली, धरान–८ का प्रकाश परियार र सिर्जना राई, धरान–८ का टीका मङ्ग्राती र सविना राई, धरान–१६ का दीपक सार्की र डोल्मा शेर्पा, धरान–१२ का बमबहादुर विश्वकर्मा र जयन्ती लिम्बू, धरान–५ विनोद विश्वकर्मा र पार्वती श्रेष्ठ, धरान–७ का गणेश विश्वकर्मा र सन्तमाया मगर छन् । उनीहरूमध्ये अधिकांशले जातका कारण केही न केही समस्या भोग्नु परेको बताउँछन् ।

यीमध्ये धेरै जोडीहरूले समाज र परिवारले राम्रोसँग स्वीकार नगरेको, स्वीकार गर्नेहरूले पनि कुलमा कर्म चलाउने कार्य नगरेको बताए । सम्मानित जोडीहरूको तथ्याङ्क हेर्दा अधिकांश दलित पुरूषले मात्र गैरदलितका छोरीलाई विवाह गरेका छन् । दलित महिलासँग गैरदलित पुरुषले पनि विवाह नगर्ने होइनन् तर विवाहपछि स्वीकार नगर्ने र यातना, दबाव दिएर छुटाउने गरेको जानकारहरू बताउँछन् ।

अन्तरजातीय विवाह पनि जनजाति र दलितबीचमा मात्र धेरै विवाह भएको देखिन्छ । अन्तरजातीय विवाहलाई इसाई धर्मालम्बीहरूले भने सहजै स्वीकार गरेको सम्मानीत जोडीहरूले बताए । अहिले गैर दलितबीचको विवाहलाई विभिन्न बहाना गरेर छुटाउने गरेको जानकार बताउँछन्् । सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका मीनबहादुर विश्वकर्माले भने, ‘अहिले अन्तरजातीय विवाह गर्दा धेरै विचार गरेर गर्नुपर्छ ।’ उनले अपरिपक्व उमेरमा विवाहमा पनि अन्तरजातीय विवाह गर्दा विभिन्न समस्या उत्पन्न भई दुर्घटना हुने गरेको बताए । रुकुम पश्चिमको घटना पनि अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसक्दा भएको उनको बुझाइ छ । उनले कानुनी आधार पूरा भएपछि मात्र विवाह गर्न युवापुस्तालाई सुझाव दिए । उनले भने, ‘अन्तरजातीय विवाह कानुनी आधार नहुँदा समस्या हुन्छ ।’

प्रतिक्रिया दिनुहोस