दाङ । सरकारले आफुले निर्माण गरेको नियम कानुन नियमनमा खासै ध्यान नदिएको पाईन्छ । सडक दुर्घटना भए पछि मात्र प्रहरी तथा सरकारले विभिन्न खाले नियम लागु गर्ने गर्दछ । केहि समय अगाडी लागु गरेको टाईमकार्ड पनि अहिले सञ्चालनमा छैन । सिट क्षमता भन्दा बढि यात्रु नराख्ने नियम पनि अहिले प्रहरी तथा सरकारले कार्यान्वयनमा त्यति चासो दिएको पाईदैन । तर सडक दुर्घटना भएर हुने धनजनको क्षति पछि मात्र सरकारले यातायात सञ्चालनमा कडाई गर्ने परम्परा दाङमा पनि त्यतिकै मात्रामा छ ।
यता दाङमा हेर्दा घोराही – तुलसीपुर सडक खण्डमा गाडीहरुको चाप धेरै र चालकहरुको यात्रु कै प्रतिस्पर्धाका लागि धेरैको ज्यान जोखिममा पर्ने गरेको छ । घोराही – तुलसीपुर सडक खण्डमा प्रायः जसो सबै गाडीहरु यात्रुको क्षमता भन्दा धेरै यात्रु चढाएको देख्न सकिन्छ । यसरी जानकार भएर पनि यात्रु को जीवन सँग खेलबाड भैरहेको छ । जिल्ला ट्राफिक कार्यालय दाङले भने दुर्घटना घटि सकेपछि केही दिनका लागि मात्र चेक जाँच गर्ने तर त्यसको केही दिनपछि बाट वास्ता नगरेको घटना पनि धेरै छन् । सडक दुर्घटना कम गर्न का लागि स्वम चालक नै जिम्मेवारि भएर सबारी साधन चलाउने र जिल्ला ट्राफिक कार्यलयले पनि चालकहरु सँग अन्तरक्रिया गरि नियमित चेक जाँच गर्न जरुरी छ।
हुन त नेपालमा हरेक दिन भने जस्तो सडक दुर्घटना सम्बन्धी समाचार र त्यसबाट भएका दर्दनाक घटनाहरू सुन्न र हेर्न सकिन्छ तर पनि चाडपर्व र बर्षाद्का बेला यस्ता समाचारहरूले अखवारका पाना भरिने गर्छन् तर सडकमा भै रहेका यस्ता दुर्घटनाहरू अब त जुनसुकै समय र अबधिमा पनि समाचार बन्न थाले।
सडक दुर्घटनाको तथ्याॅंक हेर्ने हो भने आर्थिक वर्ष २०१९/२०मा १०,९६५ वटा घटनामा ४,१४४ जना सख्त घाईते र २,५४१ जनाको मृत्यु भएको पाईन्छ।यसरी हाल दैनिक ७ जना भन्दा बढी ब्यक्ति सडक दुर्घटनाका शिकार भएको पाईन्छ। यसरी दैनन्दिन यसको संख्या डरलाग्दो तवरवाट बृद्धी भै रहेको पाईन्छ जुन हालको कोरोना बाट हुने मृत्यु भन्दा निकै भयाभह रहने गरेको छ। नेपालमा हुने सडक दुर्घटनाका कारणहरू हाल सम्म पत्ता नलागेको भन्न मिल्दैन तर पनि कारणहरूको निदान संगै यिनीहरूको संबोधन हुन सकेको देखिएन।संबोधन भएको भए यसरी हुने दुर्घटनामा अबश्य पनि कमी आउने थियो तर त्यसो भएन।
सडक सुरक्षा सम्बन्धमा भएका थुप्रै अध्ययनले सडकमा हुने घटनाका कारण पत्ता लगाएका छन्। त्यस्ता घटनालाई समाधान गर्न सकिने कारण पनि उल्लेख गरेका छन्। सडक दुर्घटना गाडीको खराब भाग्य ‘इल्फेइट’ ले निर्धारण गर्दैन। सडक दुर्घटना भाग्यद्वारा निर्धारित पनि हुँदैनन्, बरु तिनका कारण भविष्यवाणी गर्न सकिने र रोकथाम गर्न मिल्ने खालका हुन्छन्। त्यसैले सडक दुर्घटनालाई ‘ऐक्सिडेन्ट’ भन्नु उचित हुँदैन।
सडक दुर्घटनाको केही मुख्य कारण छन्, जस्तै– चालकको व्यवहार, असुरक्षित सवारी साधन, सडक प्रयोगकर्ताको व्यवहार र ट्राफिक नियमको उल्लंघन। तीव्र गति, अनुचित ओभरटेक, मादक पदार्थ, लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सवारी साधन चलाउँदा मोबाइल प्रयोग गर्नेजस्ता चालकको व्यवहार एउटा मुख्य कारण हो। त्यस्तै साइकल यात्री र पैदलयात्रीको व्यवहारका कारण पनि दुर्घटना हुने गरेका छन्। सिट बेल्ट र हेलमेट प्रयोग नगर्दा दुर्घटनाको क्षति बढी हुने गरेको छ।
सर्वप्रथम सडक दुर्घटनासम्बन्धी जनचेतना जगाउन जरुरी छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीसँगै सचेतना अभियानलाई पनि निरन्तरता दिन आवश्यक छ। यसका साथै लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवनका जाँच पनि गर्न जरुरी छ। निश्चित गति, सीमा, मोटरसाइकल चालक र पछाडि बस्ने दुवैले हेलमेट प्रयोग, ड्राइभर र अगाडि बस्ने यात्रुले सिट बेल्ट प्रयोग, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोगमा प्रतिबन्धजस्ता नियम लागू गर्न बलियो कानुन आवश्यक छ। त्यसको नियमनका लागि पनि जोड दिन जरुरी छ। त्यस्तै सवारी साधनको सुरक्षा मापदण्ड पनि महत्वपूर्ण छ। सबै सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक परीक्षण गराउन, सिट बेल्टको उपलब्धता सुनिश्चित गर्न आवश्यक छ।
सडक सुरक्षा सुधारका लागि विश्वव्यापी लोकप्रियता हासिल गरिरहेको ‘सुरक्षित प्रणाली’ को दृष्टिकोण नेपालमा पनि उत्तिकै सान्दर्भिक छ। सुरक्षित प्रणालीको अवधारणाले सडकमा मानिसबाट गल्ती हुन्छ र मानव शरीरसँग दुर्घटनाको धक्का सहन सक्ने सीमित क्षमता भएकाले उनीहरू असुरक्षित छन् भन्ने स्वीकार गर्छ। त्यसैले सडक र सवारी साधन डिजाइनर, निर्माणकर्ता, व्यवस्थापन र प्रयोगकर्ता सबै दुर्घटनाको धक्काका बाबजुद पनि मृत्यु वा गम्भीर घाइते नहुने खालको सुरक्षित सडक बनाउन जिम्मेवार हुनुपर्छ भन्ने मान्यता राखिन्छ।
सुरक्षित प्रणालीमा यातायातसँग जोडिएका सबै पक्ष, सडक र सडकछेउ, सवारीको गति, सवारी साधन र सडकको प्रयोगमा सुधारलाई जोड दिइन्छ। यी सबै पक्षमध्ये एक मात्र असफल भए पनि अन्य पक्षले दुर्घटनामा संलग्न मानिसको सुरक्षा गर्नेछ।
नेपालमा नयाँ सडक निर्माण तीव्र गतिमा भइरहेका छन्। सबै खालका प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी यी सडक डिजाइन गर्ने अवसर पनि अहिले नै हो। सुरक्षित प्रणालीको दृष्टिकोण सुरुमा महत्वाकांक्षी लाग्न सक्छ, तथापि यो प्रणाली कार्यान्वयन गरेका देशमा अन्य देशमा भन्दा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई छोटो अवधिमै ठूलो मात्रामा घटेको ५३ देशमा गरिएको एक अध्ययनले देखाएको छ।