प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ । आज बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिनुभएको हो ।
पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भएको टिप्पणी समेत गर्नुभएको छ ।
अध्यक्ष्य ओलीले भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने पनि बताउनुभएको छ । भेला आयोजकहरुले आत्मालोचना नगरे कारवाहीको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने पनि बताउनुभयो । एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न समेत ओलीले चेतावनी दिनुभएको छ ।