प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए डा. केसीको अनशन बस्‍ने चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन्। डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री र शिक्षामन्त्रीले पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन दिन खोजेको आरोप पनि उनले लगाएका छन्। ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोसिस भइरहेको पनि  विज्ञप्तिमा उल्लेख छ।

अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्ने, विश्वविद्यालयको उपकूलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग उनले राखेका छन्।

प्रतिक्रिया दिनुहोस