अनिष्ट हुनसक्छ, आन्दोलनको आँधीबेहरी ल्याउनपर्ने हुनसक्छ–प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताएका छन् । 

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए । त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ।

उनले अघि भने, ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने भयो भने मान्य हुने छैन ।’ त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ।

उनले प्राप्त भएका उपलब्धि गुम्ने खतरा भए शान्तिपूर्ण क्रान्ति गर्नुपर्ने पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको छ। यो साँचो कुरा हो,’ उनले भने । उनले अब लड्नुको विकल्प नरहेको पनि बताए ।

प्रचण्डले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाए । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२/०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रस्ट पारे ।  

‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछिहासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’

सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै उनले जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

प्रतिक्रिया दिनुहोस